काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशमा काँग्रेस र एमालेका नेताले मुख्यमन्त्री बन्न सक्दैनन् भन्ने वर्षौंदेखिको स्थापित धारणा भत्किन थालेको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले हालै एमाले नेता सरोज यादव र त्यसपछि नेपाली काँग्रेसका श्रीकृष्ण यादवले मधेशवादी दलको समर्थनसहित मुख्यमन्त्री बन्न सफल भएपछि यो सोचाइ बद्लिएको स्पष्ट भएको बताए। पोखरेलले लेखेका छन्, “मधेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि श्रीकृष्ण यादव मधेशवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए।”
उनका अनुसार यो परिवर्तन नेपाली राजनीतिमा सकारात्मक संकेत हो। जनादेशअनुसार मधेशमा मुख्यधारा दलका नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताकै अभिव्यक्ति भएको उनले उल्लेख गरे। मधेशमा समाजमा लामो समयदेखि बनेको राजनीतिक सीमारेखा क्रमशः खुल्दै गएको र सहकार्यको वातावरण विस्तार हुँदै गएको यस परिणामले पुष्टि गरेको पोखरेलको तर्क छ।




