राजनीति

सरकारसँग चार बुँदे कारबाही योजना माग्दै प्रलोपाको ध्यानाकर्षण

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई चार बुँदे मागपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष सुदन किरातीको नेतृत्वमा सिंहदरबार पुगेको प्रतिनिधिमण्डलले जेनजी आन्दोलनदेखि सुशासन सुधारसम्मका मुद्दा उठाउँदै औपचारिक रूपमा मागहरू प्रस्तुत गरेको हो।

प्रलोपा टोलीले बुझाएको पत्रमा जेनजी जनआन्दोलनका उठाइएका समस्याको समाधान, आर्थिक तथा सामाजिक न्याय सुनिश्चित गर्ने कदम, व्यापक भ्रष्टाचार नियन्त्रण तथा सुशासन संस्थागत गर्ने नीति र आगामी निर्वाचनका आवश्यक तयारी तत्काल अघि बढाउन सरकारलाई आग्रह गरिएको छ।

पार्टीका अध्यक्ष किरातीका अनुसार, जेनजी आन्दोलनले उठाएका ‘जायज माग’ सम्बोधन नगरे देशमा असन्तोष बढ्ने जोखिम छ। “युवा पुस्ताले उठाएका प्रश्नहरूलाई बेवास्ता गर्नु राष्ट्रहितविपरीत हुन्छ,” किरातीले प्रधानमन्त्रीसमक्ष भनेको प्रलोपाले जनाएको छ। प्रलोपा नेतृत्वले सरकारलाई मागपत्रका प्रत्येक बुँदामा छिटो निर्णय गरी कार्यान्वयनमा लैजान आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *