काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको लामो समयदेखि चलिरहेको एकता–वार्ता अन्ततः सफल भएको छ। आइतबार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित औपचारिक कार्यक्रममा दुई दलले एकीकरणको घोषणा गर्दै एउटै राजनीतिक संरचनामा अघि बढ्ने प्रतिवद्धता सार्वजनिक गरे। एकता घोषणा भइरहेका बेला सभाहल कार्यकर्ताको उपस्थितिले दुवै दलको अपेक्षा र नयाँ राजनीतिक व्यवस्थापनतर्फको आकांक्षा स्पष्ट झल्किएको थियो।
‘रास्वपा’ नाममै एकता : ब्रान्ड सहजै हस्तान्तरण
रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीचको एकतामा सबैभन्दा महत्त्वपूर्ण पक्ष—दुवै दल सहमत भएर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) नाम निरन्तर राख्ने निर्णय। रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेले सहमति अनुसार नै नाममा परिवर्तन नहुने बताउँदै यसलाई ‘राजनीतिक ब्रान्ड स्थिरता’को निर्णय भने।
एकता–अभिलेखमा चार शीर्ष नेता हस्ताक्षर
एकता सहमति पत्रमा— रास्वपा तर्फबाट कार्यबाहक अध्यक्ष डोलप्रसाद अर्याल, उपाध्यक्ष स्वर्णिम वाग्ले र विवेकशील साझा तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरी एकता औपचारिक रूपमा टुंग्याए। यससँगै दुवै पार्टी अब एउटै संगठनात्मक संरचना र साझा राजनीतिक दृष्टि अन्तर्गत अघि बढ्नेछन्।संगठनगत नाम जस्तै चुनाव चिन्ह ‘घण्टी’ पनि यथावत रहने निर्णय गरिएको वाग्लेले स्पष्ट गरे। दुवै दलको कार्यदलमा चिन्ह बदल्नुपर्ने कुनै औपचारिक प्रस्ताव नआएपछि पुरानै चिन्ह राख्ने सहमति सहजरूपमा बनेको बताइएको छ।
एकताले के संकेत गर्छ ?
यो एकता—शहरी मतदाता आकर्षित गर्ने सम्भावना,मध्यमार्गी, सुशासन–केन्द्रित राजनीति मजबूत हुने संकेत, वैकल्पिक राजनीतिक दलबीच समायोजनको नयाँ अभ्यासका रूपमा विश्लेषण भइरहेको छ।
रास्वपा–विवेकशील साझा एकता औपचारिक रूपमै घोषणापछि अब सबैको नजर एकीकृत संरचनाले संगठन विस्तार र आगामी निर्वाचन रणनीति कसरी तय गर्छ ? भन्ने प्रश्नमा केन्द्रित छ।





