काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने विवाद चुलिँदै जाँदा सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्न नहुने धारणा राख्दै आएका नेताद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई पनि आकस्मिक रूपमा छलफलका लागि महाराजगञ्जस्थित निवासमा बोलाएका छन्।यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्मासँग महाधिवेशनबारे निर्णायक छलफल गर्न लागेको अवस्थामा देउवाले निधि–सिटौलालाई समेत समावेश गर्नुको अर्थ ‘आन्तरिक समीकरण फेरबदल’ को संकेतका रूपमा हेरिएको छ।
स्रोतका अनुसार खड्का, थापा र शर्मासँग तय भएको भेटघाटकै समयमा सभापति देउवाले निधि र सिटौलालाई पनि फोन गरी आफ्नो आवासमा बोलाएका हुन्। देउवाको बोलाहटसँगै उनीहरू नयाँ बानेश्वरको आनन्दभूमि इभेन्ट्स हलमा चलिरहेको संस्थापन पक्षीय भेलाबाट बाहिरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।बिहीबार पनि देउवाले पूर्वपदाधिकारीहरू तथा केन्द्रीय सदस्यहरूसँग सामूहिक छलफल गरेका थिए। त्यही छलफलमा आफूलाई नामभजाएर नेताहरूले महाधिवेशनको एजेन्डा अघि बढाइरहेको अवस्थामा उनले असन्तुष्टि व्यक्त गरेका थिए।
पूर्वपदाधिकारीहरूसँगको छलफलपछि महामन्त्रीद्धय थापा र शर्मासँग भेटघाट भएको थियो।तर सो छलफलबाट कुनै ठोस निचोड ननिस्किएपछि शुक्रबार फेरि छलफललाई विस्तार गर्दै निधि–सिटौलासहितको समुहलाई देउवाले समेटेका छन्।महाधिवेशनलाई अहिले नभई निर्वाचनपछि मात्र गर्ने पक्षमा रहेका संस्थापन समूहका नेताहरू भने नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट हलमा भेला भएर आफ्नै रणनीति बनाइरहेका छन्। भेलामा शीर्ष नेतासहित ७० जनाभन्दा बढी सहभागी रहेको केन्द्रीय सदस्य डा। रणबहादुर रावलले जानकारी दिए। भेलालाई ‘महाधिवेशन असमयमै गरियो भने पार्टी कमजोर हुने’ निष्कर्षका आधारमा बोलाइएको बताइएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय थापा–शर्माले बिहीबार साँझ पनि देउवासँग महाधिवेशन एजेन्डाबारे विस्तृत छलफल गरेका थिए।
तर त्यो छलफल पनि बिना निष्कर्ष टुंगिएको थियो। सोही दिन देउवाले संस्थापन पक्षीय शीर्ष नेताहरूसँग पनि पार्टीभित्र देखिएको गहिरिँदो विवादबारे विचार–विमर्श गरेका थिए। एक पक्ष — महाधिवेशन निर्वाचनअघि नै गरौँ भन्ने महामन्त्रीहरूको लाइनमा र महाधिवेशन अहिले सम्भव छैन, चुनावपछि मात्र भन्ने संस्थापनको अडानको अडान छ ।
देउवा दुवै पक्षलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहे पनि चर्किँदो अविश्वास, टुटेको संवाद र समानान्तर भेला बनेका कारण कांग्रेसभित्र महाधिवेशन विवाद अब निर्णायक मोडतर्फ उन्मुख देखिन्छ।




