काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले एमाले नेतृत्वसँग बालुवाटारमा विशेष छलफल गर्दै पार्टीबाट संस्थागत रूपमा चुनावमा सहयोग गर्न अनुरोध गरेकी छन्। एमालेले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गराएपछि प्रधानमन्त्रीले नेताहरूलाई डाकेर सुरक्षा, तयारी र राजनीतिक वातावरणसम्बन्धी विषयमा विचार–विमर्श गरेकी हुन्। प्रधानमन्त्री कार्कीले एमालेले उठाएका शान्ति–सुरक्षा, प्रहरी मनोबल र भयरहित वातावरण जस्ता चासोलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको बताइन्।
छलफलमा सहभागी एमाले नेता महेश बर्तौलाका अनुसार सरकार गठनकै विषय सर्वोच्च अदालतमा संवैधानिक परीक्षणमा रहेकाले अन्य एजेन्डा त्यसपछि मात्र अगाडि बढ्न सक्ने धारणा एमालेले प्रस्तुत गरेको थियो। ‘हामी सर्वोच्चमा गइसकेका छौं। सरकार निर्माणकै प्रश्न निर्णयको प्रतीक्षामा छ,’ नेता बर्तौलाले भने, ‘त्यसैले तोकिएको मितिमा निर्वाचन सम्भव हुन्छ कि हुँदैन भन्नेमा हामी निश्चिन्त हुन सकेका छैनौं।’
एमालेले निष्पक्ष, निर्भय र शान्त वातावरण नबन्दासम्म मतदाता सहज रूपमा मतदान केन्द्रसम्म पुग्न सक्ने अवस्था नदेखिएको बताएको छ। निवर्तमान आइजीपी चन्द्रकुबेर खापुङलाई अचानक स्थानान्तरण गरिएको घटना, प्रहरीको मनोबल गिरावट, भागेका कैदी र फेला नपरेका हतियारजस्ता विषयले सुरक्षा व्यवस्थाकमजोर देखिएको पार्टीको तर्क छ। एमाले नेताहरूले लोकतन्त्रमा आफूहरू प्रतिबद्ध रहेको र जनतामा जानु नै पार्टीको प्राथमिकता भएको बताए।
‘एमाले सधैं जनतामुखी पार्टी हो। तर त्यसका लागि उपयुक्त वातावरण चाहिन्छ,’ बर्तौलाले भने।
एमालेले संवैधानिक परीक्षण छिटो टुंगिए राजनीतिक प्रक्रियामा सहजता आउने र चुनावसम्बन्धी तयारी तीव्र रूपमा अघि बढ्न सक्ने निष्कर्ष पनि बैठकमा राखेको थियो।




