काठमाडौं। घनश्याम भूसाल नेतृत्वको एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जैशी नेतृत्वको नेकपा (संयुक्त) बीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ। बिहीबार त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा दुवै पक्षले एकता–सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै संयुक्त राजनीतिक यात्राको घोषणा गरेका हुन्।
सहमतिअनुसार एकताको औपचारिक घोषणा केही दिनभित्र गर्ने तयारी गरिएको छ। एकतापछि पार्टीको नाम ‘नेकपा (संयुक्त)’ नै राखिने छ भने पार्टीको चुनाव चिह्न हँसिया यथावत रहनेछ।
पार्टीको झण्डामा ‘बौद्धिक श्रम’ को प्रतिनिधित्व हुने संकेत थपिँदै
दुवै पक्षले एकता पश्चात् प्रयोग गरिने पार्टीको झण्डामा परम्परागत कम्युनिस्ट प्रतीकसँगै ‘बौद्धिक श्रम’ को प्रतिनिधित्व गर्ने संकेतसमेत समावेश गर्ने सहमति जनाएका छन्। यसलाई भूसाल पक्षले ‘नयाँ विचार र श्रमको समान मान्यता’ को रूपान्तरणकारी संकेतका रूपमा व्याख्या गरेको छ।
सहमतिअनुसार दुई महिनाभित्र राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ। पार्टी संगठन विस्तार, नीति निर्माण तथा सांस्थिक संरचना स्पष्ट पार्ने काम सोही सम्मेलनमार्फत टुंग्याइने बताइएको छ। अन्य विषयहरू आवश्यकता अनुसार दुवै पक्षबीच अतिरिक्त छलफलमार्फत तय गरिनेछ।
दुवै पक्षका शीर्ष नेताको सहभागिता : घनश्याम भूसाल,घनेन्द्र बस्नेत,जीवनराम श्रेष्ठ लगायत नेताहरू सहभागी थिए। त्यसैगरी नेकपा (संयुक्त) तर्फबाट—उपाध्यक्ष मोहम्मद अब्बास,लक्ष्मी शाह , महासचिव केदार शर्मा उपस्थित थिए। यो एकतालाई नेपाली वाम राजनीतिमा नयाँ समीकरण निर्माणको संकेतका रूपमा हेरिएको छ, विशेषतः भूसालको वैचारिक अभियान र जैशी पक्षको संगठनात्मक संरचना एउटै प्लेटफर्ममा आउनुले आगामी महिनाहरूमा वाम राजनीति थप सक्रिय बन्ने अनुमान गरिएको छ।




