राजनीति

रास्वपाका काठमाडौं सभापति विष्टले फिर्ता लिए राजीनामा, पार्टीले माग सम्बोधन गर्ने जनायो प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं सभापति प्रदीप विष्टले आफ्नो राजीनामा फिर्ता लिएका छन्। आज पार्टीका शीर्ष नेताहरूको बैठकमा सहमति बनेपछि विष्टले पदमा फर्किएका हुन्।  राजीनामा फिर्ता लिने निर्णयको कारणबारे विष्टले भने, “पार्टीमा मैले उठाएका मुद्दाहरू सम्बोधन गर्ने र समस्या रहेका विषय समाधान गर्ने सहमति भएपछि मैले राजीनामा फिर्ता लिएको हुँ।”

विष्टले यसअघि पारदर्शिता, बेथिति र निर्णयहीनताको विषय बारम्बार प्रदेश समिति, प्रदेश इन्चार्ज र केन्द्रीय नेतृत्वसँग उठाएका थिए। तर सम्बोधन नभएपछि उनले मंसिर ५ गते महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएका थिए। उनले बताएअनुसार, जिल्लाको नेतृत्वमा रहेर निर्वाचन क्षेत्र, पालिका र वडाका कार्यकर्ता तथा मतदातालाई मार्गदर्शन गर्ने क्रममा उनीहरूलाई ‘गुमराह’मा राखिरहनु आफ्नो नैतिकताले नदिने भन्दै उनले राजीनामा दिएका थिए।

विष्टले उल्लेख गरे, “६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक र अनौपचारिक संवादमार्फत तथ्य प्रस्तुत गर्दै सुधारका लागि ठोस र समयसापेक्ष निर्देशन माग गरेको थिएँ। तर उपल्लो निकायले तत्परता देखाएको थिएन।” पार्टीका शीर्ष नेताहरूले आफ्ना माग सम्बोधन गर्ने र आन्तरिक समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि विष्टले राजीनामा फिर्ता लिएका हुन्। उनका अनुसार, दिइएको राजीनामा पार्टीले पहिले नै स्वीकृत गरेको थिएन।

विष्ट गत निर्वाचनमा प्रतिनिधि सभाका लागि काठमाडौं–१० बाट रास्वपाको उम्मेदवार पनि बनेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *