राजनीति

नेकपाको देशव्यापी एकता अभियान सार्वजनिक, प्रतिनिधि सभा चुनावका लागि दल दर्ता पनि सम्पन्न’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर महिनाभर चल्ने ‘एकता सन्देश सभा’ कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालयबाट जारी भएको विज्ञप्ताअनुसार पार्टीले प्रदेशदेखि स्थानीय तहसम्म चरणबद्ध रूपमा सभा सञ्चालन गर्दै संगठनात्मक एकताको सन्देश जनतामा पुर्‍याउने जनाएको छ।

मंसिर १२ देखि २३ सम्म प्रदेश–प्रदेशमा सभा

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको संयुक्त प्रेस नोटअनुसार एकता अभियान मंसिर १२ गते सुदूरपश्चिमबाट सुरु हुनेछ। त्यसपछि यो अभियान क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, संघीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा विस्तार हुने छ।

जिल्ला, स्थानीय तह र विदेशमा पनि कार्यक्रम

प्रदेशसभासँगै मंसिर २६ भित्र सबै जिल्लामा एकता सन्देश सभा हुनेछ भने मंसिर २९ मा देशभरका सम्पूर्ण स्थानीय तहमा एकैदिन सभा गर्ने योजना छ। विदेशस्थित पार्टी संरचनाहरूलाई लक्षित गर्दै मंसिर २१ गते साँझ ६ बजे भर्चुअल सभा पनि आयोजना हुने पार्टीले जनाएको छ।
सबै तहका कार्यक्रम सम्बन्धित स्थानीय संरचनाले समन्वय गर्नेछन्।

दल दर्ता पनि सम्पन्न

यसैबीच, नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ।
सोमबार राजेन्द्र पाण्डेको नेतृत्वमा टोली आयोग पुगेर फागुन २१ गते हुने चुनाव लक्षित गर्दै दल दर्ता प्रक्रिया सम्पन्न गरेको हो।

तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरू एकीकृत भई कात्तिक १९ गते नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। आयोगले मंसिर १ देखि १० गतेसम्म दल दर्ता खुला गरेअनुसार नेकपाले समयमै दर्ता गराइसकेको छ।

देशभर एकता अभियान अघि बढाउँदै दल दर्तासमेत पूरा गरेसँगै नेकपाले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक गतिविधि तीव्र बनाएको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *