काठमाडौं । नेपालको वाम राजनीतिमा फेरि एकपटक हलचल सुरु भएको छ — तर यसपटक कुरा केवल पार्टी एकताको होइन, पुस्तान्तरणको संकेतको पनि हो। दशकौँदेखि वाम आन्दोलनका नाममा सत्तासुख भोग्दै आएका पुराना नेताहरू — केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल — का विरुद्ध अब आफ्नै शिष्य–समर्थकहरू विद्रोही मुद्रा लिँदैछन्। यो परिवर्तन केवल नाम र संगठनको फेरबदल होइन, यो वाम राजनीतिलाई आदर्श र व्यवहारमा पुनः परिभाषित गर्ने प्रयासको सुरुवात हो।
गत दुई दशकको वाम राजनीतिले जनतामा अपेक्षित परिणाम दिन सकेन। समानता, सुशासन र जनकेन्द्रित शासनका नारा व्यवहारमा सत्ताकेन्द्रित शक्ति संघर्षमा परिणत भए। ओली, प्रचण्ड र नेपाल — तीनै नेताले पालैपालो सरकार सञ्चालन गरे, तर बेरोजगारी, भ्रष्टाचार र असमानता झन् बढ्दै गयो। फलस्वरूप वाम विचारप्रति युवापुस्ताको विश्वास कमजोर हुँदै गयो। वाम विचारधाराका कैयौँ कार्यकर्ता अहिले भन्छन् —“वाम नेताहरूले मार्क्स पढे, तर मार्क्सवाद बिर्सिए।”
नयाँ पुस्ताको उदय — ‘प्रगतिशील अभियान’ र नयाँ शक्ति निर्माण
माओवादी नेता जनार्दन शर्माले सुरु गरेको ‘प्रगतिशील अभियान’ ले यो असन्तोषलाई वैकल्पिक आन्दोलनमा रूपान्तरण गर्न खोजेको छ। शर्मा, घनश्याम भुसाल र नेत्रविक्रम चन्द (विप्लव) जस्ता नेताहरूले “पुराना नेतृत्व बिना वाम पुनर्गठन” को नारा दिएका छन्।
घनश्याम भुसाल निकट नेताहरूले स्पष्ट रूपमा भनेका छन् —“ओली, प्रचण्ड र नेपालले वाम आन्दोलनलाई विचार होइन, व्यापार बनाएका छन्। अब विचारको पुनर्जागरण आवश्यक छ।” यी नेताहरूको प्रस्ताव अनुसार नयाँ वाम शक्ति भ्रष्टाचारमुक्त, जनमुखी र उत्तरदायी पार्टीको रूपमा अघि बढ्नेछ —
कुनै नेता वा कार्यकर्तामाथि मुद्दा परे तत्काल पदबाट हट्ने,आर्थिक पारदर्शिता अनिवार्य गर्ने,निजीकरण नियन्त्रण र सार्वजनिक सेवामा लगानी बढाउने, युवा, दलित, महिला र उत्पीडित वर्गको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा, नेसपा लगायत आठ वाम दलबीच भृकुटीमण्डपमा एकता एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ। मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो। जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो ।
माओवादी नेता रामप्रसाद सापकोटा दिपशिखाका अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह तारा राखिने भएको छ । तर समानान्तर रूपमा, शर्मा–भुसाल–चन्द समूहले यस एकतालाई “पुनः पुरानै नेतृत्वको पुनरागमन” भन्दै अस्वीकार गरेको छ। यसले स्पष्ट गर्छ — वाम राजनीतिमा अहिले दुई प्रवृत्ति छन्ःसत्तामुखी वामपन्थ (ओली–प्रचण्ड–नेपाल खेमाको), र विचार–आधारित वाम पुनर्जागरण (शर्मा–भुसाल–चन्द समूहको)। दुवैको लक्ष्य ‘एकता’ भए पनि आधारभूत दृष्टिकोण फरक छ।
विश्लेषण : नयाँ पुस्ता सशक्त हुँदै, तर चुनौती गम्भीर
यो आन्दोलनले नयाँ पुस्तालाई आकर्षित गरे पनि चुनौति सजिलो छैन। पहिलो, वाम राजनीति हिजोको विचारमा मात्र होइन, संरचनात्मक अनुशासनमा पनि अडिएको छ — जसमा नयाँ पुस्ताले प्रवेश गर्न संघर्ष गर्नुपर्छ। दोस्रो, ‘भ्रष्टाचारमुक्त’ पार्टीको आदर्श आकर्षक भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कठोर र विवादास्पद हुनेछ।
तेस्रो, पुराना नेताहरूको प्रभाव र संगठनात्मक जाल अहिले पनि गहिरो छ, जसलाई भत्काउन राजनीतिक साहस मात्र होइन, वैकल्पिक आर्थिक दृष्टि पनि चाहिन्छ।
नेपालको वाम राजनीति अहिले निर्णायक मोडमा पुगेको छ। जहाँ पुरानो पुस्ताले सत्तासुख र गठबन्धनको राजनीतिलाई निरन्तरता दिएको छ, त्यहीँ नयाँ पुस्ता सिद्धान्त र उत्तरदायित्वमा आधारित वाम आन्दोलन निर्माणको घोषणासहित अघि बढ्दैछ।
यो प्रश्न अब खुलेर उठ्न थालेको छ —“नेपालको कम्युनिस्ट आन्दोलनमा दोस्रो पुस्ता साँच्चै उदाउँदैछ कि, फेरि अर्को निराशा मात्र जन्मिँदैछ?”उत्तर तत्काल छैन। तर संकेत स्पष्ट छ —नेपालको वाम राजनीतिमा अब परिवर्तनको ढोका खुलिसकेको छ।




