मुख्य समाचार

पार्टी फुटेपछि प्रचण्ड र जनार्दनबीच ‘पानीबाराबार’ , जेनजी आन्दोलनपछि माओवादी पार्टीको विनास

काठमाडौं । नेकपा (माओवादी केन्द्र) फेरि एक पटक आफ्नै आन्तरिक द्वन्द्वमा फसेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता जनार्दन शर्माबीचको सम्बन्ध अहिले ‘पानीबाराबार’ बनेको छ । संवाद टुटेको र विश्वास पनि भत्किएको छ ।

महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा जनार्दन शर्माले खुलेआम बहिष्कार गर्दै प्रचण्डको नेतृत्वप्रति असहमति जनाएपछि माओवादी केन्द्र पुनः फुटको दिशामा उन्मुख भएको छ। नेतृत्व हस्तान्तरण र वैचारिक पुनर्गठनको माग गर्दै आएका शर्माले स्पष्ट रूपमा भनेका छन्—“पार्टी एकताको नाउँमा नेतृत्व सत्तामा टाँसिरहन खोज्दैछ।”

शर्माको यस्तो कडा अडानपछि प्रचण्डले समेत उनलाई मनाउने कुनै प्रयास नगरेको माओवादी भित्रकै स्रोतले जनाउँछ। बरु प्रचण्डले असन्तुष्ट नेताहरूको सुझावलाई बेवास्ता गर्दै एकीकृत समाजवादीसँगको ‘कागजी एकता’लाई अघि बढाएका छन्। यसले माओवादी केन्द्रमा लोकतान्त्रिक अभ्यासको खोक्रोपन र नेतृत्वमा गहिरो स्वेच्छाचारिताको पुष्टि गरेको छ। शर्माले प्रचण्डलाई अवसरवादी चरित्र भएको व्यक्तिका रुपमा चित्रण गरे ।

विगत चार दशकदेखि प्रचण्डसँगै संघर्ष र युद्धको यात्रामा हिँडेका जनार्दन शर्माको बहिर्गमन केवल असहमति होइन, माओवादीभित्रको नैतिक पतन को सूचक हो। उनले ललितपुरमा छुट्टै पत्रकार सम्मेलन गर्दै ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गर्ने तयारी गरेका छन्—यो कदम माओवादीभित्र नयाँ विभाजनको औपचारिक सुरुवात हुनसक्छ।

राजनीतिक विश्लेषकहरूले चेतावनी दिएका छन् कि अहिलेको एकता प्रयास वास्तविक विचार र नीतिभन्दा व्यक्तिगत स्वार्थले प्रेरित छ। उनीहरू भन्छन्—“२०७५ सालमा एमाले–माओवादी एकता जस्तै यो पनि अवसरवादको अर्को आवरण हो, जसको अन्त्य फेरि विघटनमै हुनेछ।”

यस्तै, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि प्रचण्डसँगको भेटपछि असन्तोष प्रकट गर्दै भनेका छन्—“पहिले पार्टी पुनर्गठन गरौं, त्यसपछि एकता गरौं।” तर प्रचण्डको जवाफ थियो, “पहिले एकता गरौं, पछि पुनर्गठन गर्छौं।” यस्तो ‘पहिले सत्तामा, पछि सिद्धान्तमा’ भन्ने दृष्टिकोणले माओवादी आन्दोलनको नैतिक आधार ध्वस्त बनाइरहेको छ।

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले एकतालाई ‘दिगो’ भने पनि, पार्टीभित्रको गहिरो अविश्वास र नेताहरूको व्यक्तिगत महत्वाकांक्षाले त्यो दिगोपन अब कल्पनाभन्दा टाढा पुगेको छ।

अब प्रश्न स्पष्ट छ—माओवादी केन्द्र अझै पनि जनताको पार्टी हो, वा केवल प्रचण्ड र उनका नजिकका नेताहरूको सत्ता जोगाउने मंच ? जनार्दनको विद्रोहले देखाएको छ, माओवादी अब विचारको होइन, व्यक्तिगत स्वार्थ र सत्ताको सौदाबाजीको पार्टीमा रूपान्तरण हुँदैछ।

नेपालको ‘कम्युनिस्ट’ आन्दोलनमा दोस्रो पुस्ता उदाउन लागेकै हो ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *