काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व महामन्त्री किरण पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका सबै नेता तथा कार्यकर्तालाई जनताबीच सशक्त रूपमा प्रस्तुत हुन आग्रह गरेका छन्।
केन्द्रीय समितिको बैठकमा बोल्दै पौडेलले पार्टीभित्र एकता र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै भने, “हामी सबैले गाउँ–गाउँमा पुगेर जनताको विश्वास जित्नुपर्छ। निर्वाचनमा कांग्रेसलाई सशक्त रूपमा जनतामाझ लैजान सबै अग्रसर हुनुपर्छ।”
उनका अनुसार बैठकमा निर्वाचन तयारी, संगठन सुदृढीकरण र जनसंपर्क अभियानलाई तीव्र बनाउने विषयमा विस्तृत छलफल भएको थियो। पौडेलले विशेषतः ग्रामीण स्तरमा कांग्रेसको संगठनात्मक उपस्थितिलाई मजबुत बनाउने निर्णय बैठकले गरेको जानकारी दिए।
“हामीले गाउँ–टोलमा कटिबद्ध भएर काम गर्ने निर्णय गरेका छौँ,” पौडेलले भने, “विगतको जनविश्वास घट्न नदिई कांग्रेसलाई पुनः जनताको मन जित्ने पार्टीका रूपमा प्रस्तुत गर्न सबै एकजुट भएर अघि बढ्नुपर्छ।”
उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठी संगठन सुदृढीकरण र जनताको सेवामा ध्यान दिन पनि आग्रह गरे। पौडेलका अनुसार यही प्रतिबद्धता र एकताले कांग्रेसलाई आगामी निर्वाचनमा सशक्त परिणाम दिलाउनेछ।



