काठमाडौं । राजनीतिमा ‘बौद्धिकता’को नाममा अवसरको ढोका खोल्ने डा. बाबुराम भट्टराई अहिले फेरि चर्चामा छन् — यो पटक सिद्धान्तका कारण होइन, सहकारी ठगीमा थुनामा रहेका रवि लामिछानेलाई निकाल्ने अभियानका कारण। एक समय देशका बौद्धिक राजनीतिज्ञका रूपमा सम्मानित भट्टराई अहिले त्यसै सम्मानलाई आफ्नै व्यवहारले माटोमा मिलाउँदै छन्।
जनयुद्धका दिनदेखि गणतन्त्रसम्म, भट्टराईले आफूलाई ‘परिवर्तनका शिल्पकार’का रूपमा प्रस्तुत गरे। तर समयसँगै उनले त्यही सिद्धान्तलाई राजनीतिक सौदाबाजीको वस्तु बनाए। माओवादी छाड्दा उनले गर्वका साथ भनेका थिए — “अब हामी नयाँ राजनीतिक संस्कृति बनाउँछौं।” तर ‘नयाँ शक्ति’ पार्टी अल्पकालमै इतिहास बन्यो। त्यसपछि ‘समाजवादी मोर्चा’को ब्यानरमा पुनः देखा परे, जसले पनि कुनै प्रभाव जमाउन सकेन। अहिले भने उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलमुक्त गराउने अभियानमा खुला रूपमा सक्रिय छन्।
स्रोतहरूका अनुसार डा. भट्टराई लामिछानेलाई कारागारबाट निकाल्ने राजनीतिक पहलमा प्रत्यक्ष रूपमा लागिरहेका छन्। उनले निजी रूपमा पनि विभिन्न राजनीतिक समूह र सञ्चार माध्यममार्फत रविको “राजनीतिक चरित्र र जनसमर्थन”को चर्चा गर्दै सहानुभूति निर्माण गर्न खोजेका छन्। तर विडम्बना के छ भने — जस रवि लामिछानेमाथि अरबौंको सहकारी ठगीको अभियोग छ, त्यसै व्यक्तिको बचाउमा ‘नैतिकता’ र ‘सफा राजनीति’का प्रवक्ता भट्टराई आफैं उत्रिएका छन्।
भट्टराईले आफ्नो जीवनमा प्रष्ट रेखा कहिल्यै बनाउँन सकेनन्। कहिले माओवादी, कहिले नयाँ शक्ति, कहिले समाजवादी, र अहिले रास्वपाको सहयात्री। उनको राजनीतिक यात्राले अब एउटा कुरा स्पष्ट पारेको छ — विचार होइन, अवसर नै उनको स्थायी नीति हो। प्रत्येक दलमा केही समय बिताएर आफूलाई ‘विचारवान’ देखाउने तर अन्ततः सत्ताको वरिपरि घुम्ने उनको शैली पुरानो भइसकेको छ।
कांग्रेसदेखि रास्वपा सम्मका नेताहरू भट्टराईलाई अब ‘सैद्धान्तिक गाइड’ भन्दा ‘राजनीतिक सटर भाडामा दिने’ व्यक्ति भनेर हेर्न थालेका छन्। उनको बौद्धिकता अब आदर्शको भाषामा होइन, स्वार्थको आवरणमा झल्किन थालेको छ। रास्वपाको संवाद कार्यक्रममा उनको सहभागिता पनि त्यसैको उदाहरण हो — जहाँ उनले जनअपेक्षा र ‘नयाँ विकल्प’को कुरा गरे, तर पृष्ठभूमिमा रवि लामिछानेको रिहाइलाई मुख्य मुद्दा बनाइरहेका छन्।
आज गाउँदेखि सहरसम्म धेरैले ठान्न थालेका छन् — भट्टराईको राजनीति अब सिद्धान्तको नभई अवसरको खेल हो। जनता सोध्छन्, “सहकारी ठगीको अभियोगमा थुनामा रहेका व्यक्तिको रिहाइका लागि लाग्ने व्यक्ति कसरी ‘सफा राजनीति’को भाषण दिन सक्छ ?”
डा. भट्टराई अब केवल नामका लागि बौद्धिक राजनीतिज्ञ हुन्। सिद्धान्तको कुरा गर्ने उनी जब ठगी र विवादको छायामा रहेका नेताको पक्षमा लाग्छन्, तब उनको सम्पूर्ण बौद्धिकता सस्तो राजनीतिक सौदाबाजीमा परिणत हुन्छ। एक समय विचारका अग्रदूत मानिएका भट्टराई अहिले अवसरवादको दलदलमा यसरी डुबेका छन् कि, अब उनी राजनीतिक रूपमा होइन, नैतिक रूपमा पनि पुनर्जीवित हुन कठिन देखिन्छ।
उनले रवि लामिछानेलाई बाहिर बसेर नै मुद्दा लड्ने वातावरण बनाउन सके राम्रो हुने धारणा राखेका छन् । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको पहलमा सुरु गरिएको वृहत राजनीतिक सम्वादमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले भने,‘रविलाई अन्याय भयो भनेर रास्वपाको मुख्यालयमा पुगेर हस्ताक्षर गरे। पटक – पटक भैरहवामा लामिछानेलाई राखिएको जेलमा पुगेर भेट गरेँ । अहिलेपनि लामिछानेलाई बाहिर बसेर मुद्दा लड्ने वातावरण बनाउनुपर्छ । ’ कांग्रेस र कम्युनिस्टहरूलाई आगामी चुनावमा हटाउन नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बेला भएको उनको भनाइ छ ।




