काठमाडौं । एक समय देशका बौद्धिक राजनीतिज्ञका रूपमा चिनिएका पूर्व प्रधानमन्त्री समेत बनेका डा. बाबुराम भट्टराई आज राजनीतिक धरातलमा दिशाहीन यात्रु बनेका छन्। सिद्धान्तका नाममा दल बदल्ने, अवसर देख्नेबित्तिकै पाटो फेर्ने र आफ्नै बोलीको मूल्य घटाउने उनको प्रवृत्तिले अब उनलाई न विचार नेता छोडेको छ, न भरोसाका पात्र।
जनयुद्धकालदेखि गणतन्त्रको आन्दोलनसम्म, उनले ‘परिवर्तनका शिल्पकार’को छवि कमाएका थिए। तर त्यो छवि अहिले आफ्नै अवसरवादी निर्णय र अस्थिर चरित्रले ध्वस्त भएको छ। आज उनी जसको विरोध गर्थे, भोलि त्यसकै छायाँमा आश्रित हुने उनीहरूको राजनीतिक नियति बनिसकेको छ।
माओवादी छोड्दा उनले गर्वका साथ भनेका थिए, “हामी नयाँ राजनीतिक संस्कृति बनाउँछौं।” तर नयाँ पार्टी (नयाँ शक्ति) जन्मिएर केही समयमै बेमौसमको हिलोझैँ हरायो। त्यसपछि प्रचण्डको विरोधमा उत्रिएका भट्टराईले अन्ततः प्रचण्डकै मित्र माओवादी पृष्ठभूमिका नेताहरूसँग मिलेर ‘समाजवादी मोर्चा’ बनाए। तर त्यसले पनि जनविश्वास कमाएन। अहिले उनको राजनीतिक अस्तित्व कस्तो छ भने, उनी जस–जससँग हात मिलाउँछन्, ती सबैले उनलाई ‘अस्थिरता’को प्रतीक ठान्न थालेका छन्।
भट्टराईको राजनीति सधैं पद र प्रभाव वरिपरि घुम्दै आएको छ। प्रधानमन्त्री हुँदा उनले “सफा शासन”को नारा दिए पनि, उनको कार्यकालमा ठेक्का–काण्ड, नियुक्ति–राजनीति र प्रशासनिक हस्तक्षेपका प्रशस्त उदाहरणहरू छन्। जनताका मुद्दा भन्दा बढी उनी आफ्ना ‘बौद्धिक मित्र मण्डली’का सल्लाह र सन्देशमा व्यस्त रहे। परिणाम — जनताको विश्वास बिस्तारै खस्किँदै गयो।
अवसरवादको चरम उदाहरण
भट्टराईको राजनीति अब सिद्धान्तको नभई, परिस्थिति अनुसार रंग बदल्ने गिरगिटको जस्तो देखिन्छ। कहिले ‘समाजवादको नयाँ स्वरूप’ भन्दै प्रगतिशीलताको व्याख्या गर्छन्, कहिले पुरानै संरचनाको प्रशंसा गर्छन्। यसले उनलाई न बाम बनायो, न लोकतान्त्रिक — बीचमै हराएको, अस्पष्ट चरित्र बनायो।
जनता भन्छन् – “भट्टराईले विचार बेचे, सिद्धान्त होइन” आज गाउँदेखि सहरसम्मको मूल्यांकन एउटै छ — भट्टराईले विचार बेच्न थाले, सिद्धान्त होइन। जुन व्यक्ति परिवर्तनको प्रतीक मानिन्थ्यो, अहिले त्यही व्यक्ति अस्थिरताको पर्याय बनेका छन्। राजनीतिक अवसरको हरेक मोडमा हात लम्बाउने उनको बानीले उनको विचारलाई होइन, उनको छविलाई नष्ट गरिरहेको छ।
भट्टराईको यात्रा – सिद्धान्तबाट सत्तासम्म, र सत्ताबाट अस्तित्व संकटसम्म
डा। बाबुराम भट्टराईले इतिहासमा एउटा कुरा त अवश्य लेखाए — उनले हरेक अवसरमा आफ्नो बाटो बदल्न सक्ने अद्भुत क्षमता देखाए। तर दुर्भाग्य के भने, त्यो क्षमता अब जनताको नजरमा ‘राजनीतिक अस्थिरता र स्वार्थको प्रतीक’ बनिसकेको छ।
एक समय परिवर्तनको अगुवा मानिएका भट्टराई आज आफ्नै अवसरवादको दलदलमा डुब्दै गएका छन् — र उनको राजनीतिक यात्रा अब उकालो होइन, ओरालोको अन्तिम मोडमा पुगेको छ। काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकबाट एक महिनाअघि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएका डा बाबुराम भट्टराई अहिले जेनजी आन्दोनपछि नयाँ नेतृत्व र जनअपेक्षालाई हातमा लिएर हिँड्ने भन्दै अघि बढेका छन् ।
बैठकले केन्द्रीय समिति भंग गर्दै पार्टीलाई विशेष महाधिवेशनमार्फत पुनर्गठन गर्ने निर्णय गरेपछि विशेष महाधिवेशनको तयारीस्वरूप नेसपामा नयाँ आयोजक कमिटी गठन गरिएको छ । बाबुरामको राजीनामा र महाधिवेशनको निर्णयसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । आगामी दिनमा पार्टीको संरचना, नीति तथा कार्यक्रमहरूमा समेत फेरबदल आउने अनुमान गरिएको छ । अहिले रास्वपाको राजनीतिक संवादमा भट्टराई सामेल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यको सन्दर्भमा आयोजना गरेको ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम उनी सामेल भएका हुन् । शुक्रबार काठमाडौंको बालुवाटारस्थित एक होटलमा भएको कार्यक्रममा भट्टराई सामेल भएका हुन् । संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नाउपा नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी छन्।
जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पको खोजी गर्न रास्वपाले यो संवाद कार्यक्रम आयोजना गरेको रास्वपा उपसभापति वाग्लेले जानकारी दिए । कार्यक्रममा विविध राजनीतिक विकल्पबारे खुला छलफल हुने र राजनीतिक सहकार्यको बाटोमा छलफललाई प्राथमिकता दिइएको उनको भनाइ छ । सहकारी ठगी काण्डमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकाल्ने अभियानका साथ उनी अघि बढेको स्रोतको दाबी छ । डा. भट्टराईले विगतदेखि नै रास्वपालाई जेलमुक्त गराएर प्रधानमन्त्री बनाउनुपर्ने भन्दै लागि परेका छन् ।



