मुख्य समाचार

मधेशमा सत्ता संघर्ष तीव्र भएपछि सेनाको चहलपहल बढ्यो, सुरक्षा संवेदनशीलता उच्च स्तरमा

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी तीव्र बनेपछि प्रदेश प्रमुखको कार्यालय वरपर सुरक्षा बलको गतिविधि असामान्य रूपमा बढेको छ। कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० दुवैले छुट्टाछुट्टै गठबन्धन बनाएर मुख्यमन्त्रीको दाबी पेश गरेपछि राजनीतिक तनाव र प्रशासनिक संवेदनशीलता एकैपटक बढेको हो।

मुख्यमन्त्रीको पदका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद यादव र लोसपाका जितेन्द्र सोनलले छुट्टाछुट्टै समूहका सांसदहरूको समर्थन पत्रसहित दाबी पेश गरेका थिए। तर, जनमत पार्टीभित्र दुई अलग धार देखा परेपछि सत्ता समीकरण झन् जटिल बनेको छ। यही विवादले प्रदेश प्रमुखको कार्यालयमा सुरक्षा सतर्कता बढाउन सेनाको तैनाथी बढाइएको बताइएको छ।

स्थानीय प्रशासनका अनुसार, सामान्य रूपमा प्रदेश प्रमुखको सुरक्षार्थ सेना तैनाथ हुने परम्परा भए पनि पछिल्लो चहलपहल “विशेष सुरक्षा सतर्कता” का रूपमा हेरिएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय वरिपरि हाल सेनाको अतिरिक्त घुम्ती टोली समेत देखिएको जनाइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले शिलापत्रसँग कुरा गर्दै भने, “प्रदेश प्रमुखको सुरक्षाका लागि सेना खटिएकै हुन्छ। अहिलेको परिस्थितिमा घुम्ती टोली पनि पुगेको हुनसक्छ, तर यो नियमित सुरक्षात्मक कदम हो।”
उनका अनुसार सेनाको औपचारिक परिचालन वा आदेशका आधारमा तैनाथी गरिएको भन्ने कुनै निर्णय भने भएको छैन।

प्रदेशमा सत्ता गठनका लागि चलिरहेको दुई फरक दाबी र त्यसमा जनमत पार्टीका सांसदहरूको विभाजनले प्रशासनिक अस्थिरता सिर्जना गरेको छ। राजनीतिक विश्लेषकहरू भन्छन् — “प्रदेशमा सत्ता संघर्ष केवल दलगत होइन, शक्ति सन्तुलनको परीक्षा पनि हो। यस्तो अवस्थामा सुरक्षा संयन्त्रको सक्रियता अपरिहार्य हुन्छ।”

प्रदेश प्रमुखको कार्यालयले औपचारिक रूपमा कुनै असामान्य गतिविधि नभएको जनाए पनि सुरक्षाकर्मीहरूको चहलपहल, सेनाको उपस्थिति र प्रहरीको गस्ती बढ्नुले वातावरण तङ्ग्रिएको संकेत गरेको छ।
स्रोतका अनुसार, प्रदेश राजधानी जनकपुरधाममा समेत राजनीतिक दलका कार्यकर्ताहरूको भीड, प्रदर्शन र जुलुस रोक्न सुरक्षाकर्मीहरू उच्च सतर्कतामा छन्।

मधेशमा अहिले राजनीतिक सत्ता–समीकरण र सुरक्षा संयन्त्रबीचको तालमेल परीक्षणमा परेको छ। प्रदेश प्रमुखले कुन दाबी मान्ने भन्ने निर्णय हुने समय नजिकिँदै गर्दा जनकपुरमा राजनीतिक तनावसँगै सुरक्षा संवेदनशीलता पनि क्रमशः बढ्दो क्रममा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *