राजनीति

जेनजी आन्दोलनपछि पनि नेतृत्व परिवर्तनको विषयले माओवादीभित्र किचलो, प्रचण्ड कुर्सीको बागचल खेलमै व्यस्त

काठमाडौं । देशभर जेनजी आन्दोलनले पुरानो पुस्तालाई प्रश्न उठाइरहेको बेला माओवादी केन्द्रभित्र भने पुरानै नाटक दोहोरिएको छ। परिवर्तनका लागि उठेको पुस्ता सडकमा लडिरहेको छ तर पार्टी अध्यक्ष प्रचण्ड आफ्नै नेतृत्व बचाउने खेलमा ‘बागचल’ खेल्दै व्यस्त देखिन्छन्। उपमहासचिव जनार्दन शर्माले पटक–पटक प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न ध्यानाकर्षण गराइरहेका छन्। तर प्रचण्डले नेताहरूलाई सुनाउने भाषा एउटै छ – “नेतृत्व परिवर्तन सम्भव छैन।” यसरी नै उनले पार्टीभित्रको असन्तोषलाई टार्न केवल चालबाजीको राजनीति गर्दै आएका छन्।

जारी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खुलेरै कार्यवाहक अध्यक्षको माग राखे। उनको मागमा जनार्दन शर्माले पनि समर्थन जनाए। यसले प्रचण्डविरुद्ध पार्टीभित्रै असन्तोष संस्थागत हुँदै गएको स्पष्ट सन्देश दिएको छ। तर प्रचण्ड, सधैंझैं, ‘केन्द्रीय समिति भङ्ग गर्ने’ र ‘विशेष महाधिवेशन गर्ने’ जस्ता प्रस्ताव फ्याकेर समय काट्न चाहन्छन्। देशभर युवाहरूले भ्रष्टाचार, नातावाद र पुरानो पुस्ताको असक्षम नेतृत्वविरुद्ध सडक तताएका छन्। तर माओवादी केन्द्रको बैठक हेर्दा त्यहाँ पुस्तान्तरणको बहसभन्दा बढी प्रचण्डलाई कसरी टिकाउने भन्ने खेल मात्र देखिन्छ। परिवर्तनको नाममा राजनीति गरेको पार्टीले आज परिवर्तनकै मागलाई छल्न नेतृत्वको कुर्सीमा च्यापिएर बस्नु विडम्बना हो।

प्रचण्डले बारम्बार विशेष महाधिवेशनको कुरा त उठाउँछन् तर त्यो पनि आफ्नै संयोजकत्वमा समितिहरू बनाउने योजनासहित। यसले के देखाउँछ भने – प्रचण्ड अझै पनि ‘सबै अधिकार मेरो हातमै’ भन्ने मानसिकताबाट बाहिर आउन तयार छैनन्। यसरी, जेनजी आन्दोलनपछि पार्टीभित्रै पुस्तान्तरणको दबाब बढिरहेको अवस्थामा नेतृत्व परिवर्तन गर्न सक्दैनौं भन्ने प्रचण्डको अडान माओवादीलाई भविष्यविहीन बाटोतर्फ धकेलिरहेको छ।

जनता परिवर्तनको माग गरिरहेका छन्, युवाहरू सडकमा जीवन आहुति दिइरहेका छन्, तर माओवादी केन्द्रभित्र अझै पनि ‘कसको कुर्सी बलियो’ भन्ने किचलो मात्र चलिरहेको छ। प्रश्न प्रचण्डलाई हो – जनताको आन्दोलनलाई सुन्नुहुन्छ, कि अझै पनि पार्टीभित्र बागचल खेलिरहनुहुन्छ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *