काठमाडौं । रुपन्देही–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापा बहुविवाहको आरोपमा विवादमा तानिएका छन्। कानुनविपरीत बहुविवाह गरेको भनाइ सार्वजनिक भएपछि उनी आलोचनाको केन्द्रमा परेका हुन्।
सत्तारुढ दलका कार्यकर्ताहरूले यो विषयप्रति चर्को आलोचना गरेका छन् । पार्टीभित्रै पनि थप विवाद थप्ने गरी ‘गोप्य बैठकमा जासुसी चस्मा प्रयोग’ गरेको आरोपसमेत भएको छ। यसै कारण रास्वपाले तय गरेको पत्रकार सम्मेलन अन्तिम क्षणमा स्थगित भएको थियो ।
तर पार्टीका प्रवक्ता मनिष झाले थापाविरुद्धको विवादलाई अस्वीकार गर्दै, सम्पूर्ण विवरण अध्ययन गरेरै उम्मेदवार बनाइएको र यसमा पुनर्विचार नहुने स्पष्ट पारेका छन्। विपक्षी दलहरूले सो विषयमाथि आलोचना गरिरहेका बेला उनले बहुविवाहबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
डा. थापा पेशागत रूपमा एक चर्चित न्युरोलोजिस्ट हुन्। उनले नेपालमा न्युरोसाइन्सको विकास, स्ट्रोक उपचार र अनुसन्धानमा १६ वर्षभन्दा बढी समय योगदान दिएका छन्। उनका ८० भन्दा बढी अनुसन्धानपत्र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। साथै, नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका उनी हालै सार्वजनिक ‘राष्ट्रिय स्ट्रोक व्यवस्थापन प्रोटोकल’का प्रमुख लेखक हुन्।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता असोज २१ गते हुनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता असोज २२ गतेसम्म गर्न सकिनेछ भने छानबिन र निर्णय असोज २३ गते हुने निर्वाचन आयोगले जनाएको छ।




