काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट तथा सामाजिक अभियन्ता डा. लेखजंग थापा उम्मेदवार बनेका छन्। पार्टीले सञ्चालन गरेको प्राइमरी इलेक्सनमार्फत उनी अन्य ८ प्रतिस्पर्धीलाई पछि पार्दै चयन भएका हुन्। निर्वाचन समितिको औपचारिक घोषणा भने अझै आउन बाँकी छ।
सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा करिब १६ वर्षदेखि न्युरो साइन्स क्षेत्रमा सक्रिय छन्। स्ट्रोकको उपचार, अनुसन्धान र सचेतनामा उनले विशेष योगदान दिएका छन्। नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका उनी स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको स्ट्रोक उपचार प्रोटोकल निर्माणमा समेत संलग्न रहिसकेका छन्।
उनले ८० भन्दा बढी अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरिसकेका छन्। साथै, हजारौं स्वास्थ्यकर्मीलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत तालिम दिँदै आएका छन्।
एमबीबीएस पोखराको मणिपाल मेडिकल कलेजबाट, एमडी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट र डीएम न्युरोलोजी चितवनस्थित मेडिकल कलेजबाट पूरा गरेका उनले हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसिप’ कार्यक्रमसमेत गरेका छन्।
डेढ दशकदेखि काठमाडौँमै काम गर्दै आएका डा. थापा हप्तामा दुई दिन आफ्नै जन्मभूमि भैरहवा पुगेर बिरामी सेवा गर्दै आएका छन्। मुलुकलाई सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा लैजाने अठोटसहित उनी यसपटक राजनीतिमा सक्रिय रूपमा होमिएका छन्।




