काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलोपटक सञ्चालन गरेको अनलाइन प्राइमरी इलेक्सन विवादमा परेको छ। केही सदस्यले मतदान गर्न नपाएको गुनासो गरेका छन्।
उम्मेदवार पार्थिवेन्द्र उपाध्यायले पासवर्ड बिर्सनु र एप प्रयोगमा कठिनाइका कारण केही सदस्यले मत दिन नसकेको बताए। तर, उनले यसले नतिजामा ठूलो फरक नपर्ने दाबी गरे।
अर्का उम्मेदवार मधु अर्यालले पनि मतदानमा देखिएको समस्या धाँधली नभई प्राविधिक कमजोरी भएको बताए। उनका अनुसार पार्टी गतिविधिबारे जानकार सदस्यहरूले सक्रिय रूपमा मतदान गरेकाले प्रक्रियाको निष्पक्षता कायम छ।
रुपन्देहीका रास्वपा सभापति डा. बुद्धि शर्माले समेत डिजिटल भोटिङको नयाँ अभ्यास हुँदा केही समस्या आएको स्वीकार गर्दै, “यो पहिलो प्रयास भएकाले सुधारको आवश्यकता छ, तर कुनै अनियमितता भएको छैन,” भने।
गत बिहीबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म चलेको मतदानमा कुल १५९४ मत खसेको थियो। अनलाइन भोटिङमार्फत २७१६ सम्भावित मतमध्ये १५६७ मत खसेका थिए भने ६२ केन्द्रीय सदस्यमध्ये २७ जनाले मात्र मत दिएका थिए।




