काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको गतिविधि बदला लिने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्। उनले यो क्रम सुरु भइसकेको भन्दै अब कोही पनि यसबाट जोगिन नसक्ने चेतावनी दिए।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको ७ नम्बर क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु शाहमाथि बदला सुरु भइसकेको उल्लेख गरे। उनका अनुसार, आगामी निशाना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनेछन्।
‘उपेन्द्र यादव र प्रभु शाहमाथि बदला सुरु भइसकेको छ। अब प्रचण्डमाथि पनि सुरु हुनेछ। यो क्रमबाट कोही बाँकी रहनेवाला छैन,’ अध्यक्ष नेपालले भने।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको आरोप लगाए। एमालेभित्र कार्यकर्ताहरू पीडित बनेको दाबी गर्दै उनले “त्यहाँका मान्छे गहभरी आँसु बोकेर कहाँ पोख्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेका छन्” भनेर व्यंग्य गरे।
उनले स्मरण गरे कि, २०७४ सालमा कम्युनिष्ट पार्टीले बहुमत ल्याउँदा संविधान संशोधन र आवश्यक ऐन निर्माणमा तिव्रता दिन नसक्नुको मुख्य जिम्मेवार ओली नै थिए।
अध्यक्ष नेपालले कार्यकर्ताहरूलाई समाज रूपान्तरणको जिम्मेवारी बोक्न आह्वान गर्दै अधिनायकवादी प्रवृत्तिविरुद्ध सजग रहन आग्रह गरे।




