काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासबिचबीच बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
मुख्यमन्त्री कार्कीले कृषि, श्रम, स्वास्थ्य र रोजगारीका क्षेत्रमा इजरायलसँग सहकार्य भइरहेको उल्लेख गर्दै नेपाली मुख्यतया कृषि र ‘केयर गिभर’का रूपमा इजरायलमा कार्यरत भएकाले त्यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राखे। उनले इजरायलको आधुनिक कृषि प्रविधि नेपाल, विशेष गरी कोशी प्रदेशका लागि उपयोगी हुने भन्दै सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए।
कृषिमा उद्यमशीलता विकास गर्न कोशी प्रदेश सरकारले ब्याज अनुदानसहित योजना ल्याएको जानकारी दिंदै कार्कीले युवालाई कृषिमा आकर्षित गर्ने उद्देश्य रहेको बताए। साथै, कृषकलाई शैक्षिक तथा व्यवहारिक तालिमको व्यवस्था गर्न सके प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
यस अवसरमा उनले इजरायलमा कैदमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत बासलाई आग्रह गरेका थिए। साथै, मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ र गौरादह कृषि क्याम्पस झापा लगायत प्रदेशका शैक्षिक संस्थासँग सहकार्य गर्न इजरायललाई आग्रह गरे।
राजदूत बासले नेपाल–इजरायल सम्बन्ध ऐतिहासिक र गहिरो रहेको स्मरण गर्दै कृषिमा प्रविधि प्रयोगमार्फत उल्लेखनीय प्रगति गर्न सकिने बताए। उनले इजरायलमा थोरै जनशक्ति कृषिमा संलग्न भए पनि प्रविधिको कारण उत्कृष्ट उपलब्धि हासिल भएको उदाहरण दिँदै नेपालमा पनि आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन बढाउन सकिने धारणा राखे।
उनले कृषि र केयर गिभर क्षेत्रमा अझ बढी अवसर सिर्जना हुने जानकारी दिँदै कोशी प्रदेशसँग प्रत्यक्ष सहकार्य गर्न इजरायल सरकार इच्छुक रहेको बताए।




