काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउन्डेशनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेको वैचारिक झण्डासँग जोडिएको स्पष्ट पारेका छन्। बिहीबार मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले जनताको बहुदलीय जनवाद ९जबज० शान्त तलाउमा डुङ्गा चलाएको जस्तो सरल धारणा नभई चुनौती र प्रतिकुलतासँग जुध्दै स्थापित भएको उल्लेख गरे।
पोखरेलले भने, “जबजको विचार प्रारम्भमै दक्षिणपन्थी अवसरवादी र पार्टीभित्रको आलोचनासँग जुधेर अघि बढेको हो। कतिपयले शान्त तलाउमा बग्दै आएको जस्तो बुझ्न सक्छन्, तर यो विचार आँधी, तूफान र प्रतिकुलतालाई पराजित गर्दै स्थापित भएको हो, जसमा मदन भण्डारीले अगुवाइ गर्नुभएको थियो।” उनले जबजलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सन्दर्भमा लोकतान्त्रिकरण गर्ने धाराको रूपमा व्याख्या गर्दै यसलाई चटके वा मौसमी विचारको रूपमा सीमित नगरेको दाबी गरे। वरिष्ठ उपाध्यक्ष पोखरेलका अनुसार, फाउन्डेशनको कार्यालय स्थापना गरिनुको उद्देश्य मदन भण्डारीको योगदानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नु हो।
पोखरेलले फाउन्डेशनले पार्टीभित्र ओलीको वैचारिक नेतृत्वसँगै भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै भने, “ओलीले विचारको झण्डा बोकेका बेला अनेक आरोप र आलोचनासँग जुध्दा फाउन्डेशनले वैचारिक संघर्षमा योगदान पुर्याएको छ।” साथै उनले जबजको पक्षमा उभिँदा सामना गर्नुपर्ने चुनौती र जोखिमबारे सचेत हुनुपर्ने औँल्याए। “यदि चुनौतीको हेक्का राखिएन भने दुर्घटना हुनसक्छ। तर फाउन्डेशनले आफ्नो लक्ष्यअनुसार काम गर्दै आएको छ,” उनले भने।
पोखरेलले फाउन्डेशनको माध्यमबाट मदन भण्डारीको वैचारिक योगदान र भूमिका आम नेपाली जनता र विश्व मञ्चमा पुर्याउने प्रयास निरन्तर जारी रहेको बताए।




