मुख्य समाचार

नेकपा एसमा फेरि फुटको छाँया : झलनाथ खनाल पक्षीय युवाले बनायो समानान्तर युवा संघ

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्रको युवा संगठन विवाद अझ चर्किएको छ । पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले आइतबार राजधानीमा रोशन थापा नेतृत्वको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई शपथ दिलाइरहेका बेला झलनाथ खनाल नजिकका युवाले भने समानान्तर कमिटी घोषणा गरेका छन् ।

सञ्जीव राईको संयोजकत्वमा बनेको उक्त कमिटीमा खनालका छोरा निर्भिक खनाल उपाध्यक्ष बनेका छन् । उनीसँगै काभ्रेका भेषकुमार शाह, कालिकोटका अनिल बोगटी, गोरखाकी रेखा तामाङ लोप्चन, इलामका कुनाल राई, कैलालीका बाबुराजा श्रेष्ठ, जुम्लाका मनोज खत्रीसहित समावेश छन्।

खनाल पक्षीय नेतृ रेखा लोप्चनले ‘नेपाल पक्षले संगठनभित्र निषेधात्मक र मनोमानीपूर्ण व्यवहार गरेको’ आरोप लगाउँदै समानान्तर कमिटी बनाउन बाध्य भएको बताइन्।

यसअघि साउन १७ मा घोषणा भएको थापा नेतृत्वको आयोजक कमिटीमा सह–संयोजकका रूपमा नाम पाएका राईले तत्कालै जिम्मेवारी अस्वीकार गरेका थिए। सामाजिक सञ्जालमार्फत उनले ‘कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न’ भन्दै विरोध जनाएका थिए।

खनाल पक्षीय कमिटीलाई पार्टी पोलिटब्युरो सदस्य तथा संघका पूर्व अध्यक्ष नरेश शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, बाँके अध्यक्ष दीपक जिएम लगायतले खुलेर समर्थन गरेका छन्।

विवादको जड

नेकपा एसभित्रको विवाद नयाँ भने होइन। झलनाथ खनालले एमाले विभाजन औचित्यपूर्ण नभएको अभिव्यक्ति दिएदेखि नै उनी र माधव नेपालबीच दूरी बढेको हो। २०८० सालमै युवा संघ र विद्यार्थी संगठनको नेतृत्व चयनमा विवाद सुरु भएको थियो।

२०७८ मा अध्यक्ष भएका नरेश शाही सुदूरपश्चिम प्रदेशसभा सदस्य हुँदै मन्त्री बनेपछि युवा संघ नेतृत्व खाली भएको थियो। त्यसपछि २०८० भदौमा सचिवालय बहुमतका आधारमा कृष्णकुमार विश्वकर्मा अध्यक्ष बनेका थिए। तर, २०८१ को महाधिवेशनपछि नेपाल पक्षले संघको नेतृत्व फिर्ता लिँदै रोशन थापालाई संयोजक तोकेपछि विवाद चर्किएको हो।

युवा मात्र नभई विद्यार्थी संगठनमा समेत समानान्तर कमिटी बनेको छ। अनेरास्ववियूमा पनि झलनाथ पक्षीय कार्यकर्ताले नरेश न्यौपानेको संयोजकत्वमा छुट्टै कमिटी गठन गरिसकेका छन्।

यसरी युवा र विद्यार्थी संगठनमै दुई पक्षीय संरचना बनेसँगै नेकपा एसभित्रको विवाद स्थायी फुटतर्फ उन्मुख हुने विश्लेषण भइरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *