मुख्य समाचार

राप्रपाद्धारा ज्योति लामा समूहविरुद्ध अनुशासन कारबाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन विवादपछि पार्टीले असन्तुष्ट पक्षका सदस्यहरूविरुद्ध कारबाही गर्ने तयारी थालेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले अधिवेशन स्थगन घोषणा गरेपछि समानान्तर समिति गठन गर्दै अध्यक्ष बनेका ज्योति लामा नेतृत्वको समूहलाई कारबाही गर्ने सिफारिस आज पार्टीलाई गरिएको छ।

राप्रयूसंघ काठमाडौंको अध्यक्ष पदमा अमित ठकुरी र लामा बीच प्रतिस्पर्धा चलिरहेको थियो। ठकुरी संस्थापन पक्षका मानिने गरिन्छन् भने लामा उपाध्यक्ष विक्रम पाण्डेसँग निकट रहेका छन्। पार्टी नेतृत्वको बुझाइ अनुसार, अधिवेशन भाँड्न भूमिका पाण्डे निकटका युवाहरूले खेलेका थिए। अधिवेशनमा दुवै पक्षबीच शारीरिक झगडा भएको र केही नेताहरू घाइते भएका थिए। घटनामा संलग्न ज्योति लामा, प्रवीण ठोकर र ऋद्दी राणालाई कारबाहीका लागि राप्रपाको अनुशासन समिति र केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको छ। ठोकर सहायक प्रवक्ता र राणा क्षेत्रीय अध्यक्ष हुन्।

संस्थापन पक्षका अध्यक्ष अमित ठकुरीले आफूमाथि पनि हातपात भएको र प्रहरीमा उजुरी दिने तयारी रहेको बताए। उनले महिला नेताहरूमाथि अभद्र व्यवहार भएको पनि बताएका छन्। राप्रपा सहमहामन्त्री तथा युवा संगठन इन्चार्ज प्रकाश रिमालले भने, “अधिवेशन भाँड्न योजना पूर्वमै बनाइएको थियो। संगठनभन्दा बाहिरका व्यक्तिहरूलाई ल्याएर अराजकता मच्चाइएको छ।”

केन्द्रीय अध्यक्ष सुजित केसीले घटना गम्भीर अनुशासन उल्लंघनको रहेको भन्दै, पार्टीले आवश्यक निर्णय चाँडै लिने बताए। उनले संगठनमा माथिल्लो तहको राजनीतिक हस्तक्षेप स्पष्ट भएको उल्लेख गर्दै, “माथिल्लो तहका नेताहरूको छत्रछायाँमा यो घटना भएको हो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *