मुख्य समाचार

महासचिव पोखरेलको एमाले नेताहरूलाई सन्देश : आन्तरिक छलफल बाहिर ल्याएर बखेडा नबनाऔँ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका संवेदनशील र नीतिगत विषयहरू आन्तरिक फोरममै छलफल गर्न नेताहरूलाई आग्रह गरेका छन्। उनले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता, ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा जस्ता विषयलाई बाहिर ल्याएर अनावश्यक विवाद सिर्जना नगर्न चेतावनी दिए।

वाग्मती प्रदेश कमिटी सचिवालयको आठौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै पोखरेलले पार्टी विधानको संशोधन प्रक्रिया हाल प्राथमिकतामा रहेको भन्दै, प्रदेश र जिल्ला कमिटीहरूले तल्लो संरचनासम्म छलफल पुर्याई सुझाव संकलन गर्न निर्देशन दिए।

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन चाहे नयाँ सदस्यता लिनुपर्ने र यो संवैधानिक पदको मर्यादासँग जोडिएको विषय भएको उनले स्पष्ट पारे। पोखरेलका अनुसार, सभामुखको हकमा भने सदस्यता केवल स्थगन हुने भएकाले दुवै प्रकरणलाई एउटै दृष्टिले हेर्न मिल्दैन।

दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान एमालेको दशौँ महाधिवेशनले नै हटाइसकेको भन्दै उनले यो विवाद अहिलेको होइन भनी स्मरण गराए। त्यस्तै, ७० वर्षे उमेर सीमा सम्बन्धी विषय पनि केन्द्रीय कमिटीले एकमतले स्थगन गरिसकेको उनले जानकारी दिए।

पोखरेलले संवैधानिक भूमिका, पार्टीको निर्णय प्रक्रिया र विधानको मर्यादा कायम राख्दै संगठनभित्रको एकतालाई प्राथमिकता दिन आग्रह गरे। बैठकमा प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतासहित स्थायी कमिटी सदस्य डा। राजन भट्टराई लगायतको मन्तव्य पनि प्रस्तुत भएको थियो।

बैठकमा उपस्थित सचिवालय सदस्य र जिल्ला अध्यक्षहरूले विधान संशोधनसम्बन्धी आफ्ना धारणा र रिपोर्टिङ पेस गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *