काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष पदबाट पहिले नै निलम्बनमा रहेका दीपक कुमार साहलाई पार्टीबाट पूर्ण रूपमा निष्कासित गरेको छ। अब उनी पार्टीका साधारण सदस्य समेत रहने छैनन्।
जनमत पार्टीले विज्ञप्ति जारी गर्दै, साहले पार्टीको अनुशासन उल्लंघन गरेको, स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिएको, र विधान विपरीत गतिविधि गर्दै गुटगत बैठकहरू चलाएको आरोप लगाएको छ।
गत चैत १४ गते साहलाई ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरिएको थियो। पार्टी अध्यक्ष सीके राउतको विरुद्ध गतिविधिमा संलग्न भएको, जिम्मेवारी अनुरूप भूमिका निर्वाह नगरेको, र पार्टी फुटाउने संकेत देखिएको भन्दै उनलाई सख्त निर्णयको प्रक्रियामा ल्याइएको जनाइएको छ।
अनुशासन समितिको विज्ञप्तिमा भनिएको छ— निलम्बनमा रहेकै अवस्थामा साहले पार्टीको नाम, झण्डा, र छापको अवैध प्रयोग गर्दै सार्वजनिक कार्यक्रमहरू गरेका थिए, जुन जनमतको विधानअनुसार निषेध गरिएको हो।
अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डल द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ— पार्टीको नीति, अनुशासन र एकताको भावना विपरीत कार्य गरेकाले उहाँलाई अब पार्टीको साधारण सदस्यको रूपमा पनि मान्यता दिइने छैन।
यो घटनाले जनमत पार्टी भित्रको अनुशासनलाई कडाइका साथ पालन गरिन थालेको संकेत दिन्छ। यस्तै निर्णयले पार्टीभित्रको नेतृत्वको अखण्डता र नियन्त्रणको सन्देश बाहिर गएको छ।




