मुख्य समाचार

राप्रपामा तनाव : लिङ्देनका स्वकीय सचिवद्वारा पूर्व उम्मेदवारमाथि हेल्मेट आक्रमण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाबाट पूर्व प्रदेशसभा उम्मेदवार राजु गैरेमाथि हेल्मेटले आक्रमण गरेका छन्।

बुधबार काठमाडौंको विशालनगरमा केही साथीहरूसँग चिया गफ गर्दै बसेका गैरेमाथि कडायतले आक्रमण गरेका हुन्। सामाजिक सञ्जालमा अध्यक्ष लिङ्देनको आलोचना गरेको भन्दै कडायतले आक्रोश पोखेको बताइएको छ।

गैरेका अनुसार कडायतले उनलाई केही पर लगेर हेल्मेटले प्रहार गरेका थिए। उनले आफूमाथिको कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् र न्याय नपाए पार्टी कार्यालयमै आत्मदाह गर्ने चेतावनी दिएका छन्।

“ज्यान मार्न खोज्ने मानिसलाई वार्ताबाट उन्मुक्ति दिनु हुँदैन,” गैरेले सामाजिक सञ्जालमा लेखेका छन्, “पार्टीकै कारण मैले धेरै गुमाएँ, ज्यान दिनुपरे पनि कुनै आपत्ति छैन।” राप्रपामा १८ वर्ष योगदान दिएको दाबी गर्दै गैरेले अध्यक्ष लिङ्देनको कार्यशैलीको खुल्लमखुल्ला आलोचना गरेका छन्। उनले पार्टी ‘झापाको छुर्पी ग्याङ’ शैलीमा चलिरहेको आरोप पनि लगाएका छन्।

प्रहरीमा उजुरी दिइसकेको गैरेले दोषीलाई कारबाहीको माग गरेका छन् भने पार्टीभित्रैबाट पनि आन्तरिक असन्तुष्टि सतहमा आउन थालेको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *