काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफू अझै पनि पार्टीको सदस्य रहेको दाबी गर्दै सार्वजनिक रूपमा पुनः सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेले शालिन तर आलोचनात्मक प्रतिक्रिया दिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत भण्डारीले आफ्नो सदस्यता विधिसम्मत रूपमा नवीकरण भइसकेको बताउँदै एमालेमा आवद्ध भएर काम गर्ने अठोट जनाएकी थिइन्। उनले भनिन्, मेरो सदस्यता कसैले खोस्न सक्दैन, यो मेरो संविधानले प्रत्याभूत गरेको अधिकार हो।
तर, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको प्रस्तुतिलाई “शालिन र भद्र” भने पनि “पूर्वराष्ट्रपतिको हैसियत बिर्सिएर पार्टीमा फर्किन खोज्नु जिम्मेवारीबाट विमुख हुनु” भन्दै टिप्पणी गरेका छन्। गौतमले भण्डारीलाई संविधानको सर्वोच्च पदमा बसेको साझा व्यक्तित्वका रूपमा सम्झाउँदै भने, “उहाँले म सात वर्ष राष्ट्रपति थिएँ भन्ने तथ्य बिर्सिनुभयो। साधारण नागरिक होइन, संवैधानिक संरक्षकको जिम्मेवारी सम्हालिसकेकी व्यक्तिले सोही संस्थाबाट राजनीतिक संलग्नता खोज्नु उचित हुँदैन।”
एमालेले यसअघि पार्टीको केन्द्रीय कमिटी बैठकमार्फत भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय लिएको थियो, जसलाई भण्डारीले “अपरिपक्व र लहडमा गरिएको” बताउँदै आलोचना गरेकी थिइन्। विद्या भण्डारीले राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व राजनीतिक पृष्ठभूमि रहेको, ४५ वर्षसम्म एमालेसँग जोडिएको इतिहास सुनाउँदै भनिन्, “म कुनै पदप्रति लोभी छैन, पार्टीको सदस्य भएर जनताको सेवा गर्न चाहन्छु। जबजको सिद्धान्तमा अडिग छु।” उनले पार्टीको निर्णय जनवादी केन्द्रीयताको सिद्धान्त विपरीत भएको आरोप लगाउँदै भनेकी छिन्, “अहिलेको निर्णयले पार्टीको साख घटाउँछ, वास्तविकता लुकाउन सकिँदैन।”
भण्डारीले संविधानले राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको भन्दै आफूलाई रोक्न नपाइने दाबी गरेकी छिन्। तर एमाले नेतृत्व भने राष्ट्रपतिको पदबाट अवकाश लिएपछि पनि दलको संरचना र साख कायम राख्न भण्डारीलाई निष्क्रिय रहने सुझाव दिँदै आएको छ।




