काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीबीच शुक्रबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा बसेको बैठकमा मधेस प्रदेशमा बढ्दो खानेपानी संकट, सिँचाइ अभाव, र कृषि इनपुट ९मल–बीउ० को नियमित आपूर्तिका विषयमा गम्भीर छलफल भएको छ।
कृषिमन्त्री रामनाथ अधिकारीले बैठकमा कृषि क्षेत्रको वर्तमान अवस्था र सरकारको तयारीबारे प्रष्ट पारेका थिए। बैठकमा सहभागी नेताहरूले तीनै तहका सरकारबीच समन्वय गरी तत्काल समस्या समाधानको माग गरेका छन्।
सरकारी मन्त्रीहरूको कार्यप्रगति प्रस्तुत
बैठकमा कांग्रेसका अन्य मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको काम, चुनौती र योजना सम्बन्धमा विवरण प्रस्तुत गरेका थिए। महामन्त्री विश्वप्रकाश शर्माले रुपन्देही–३ मा आसन्न उपनिर्वाचनको तयारी, जनमतको प्रवृत्ति र रणनीतिका विषयमा ब्रिफिङ गरेका थिए।
सहमहामन्त्री जीवन परियारका अनुसार, संघीय सरकारमा मन्त्री हेरफेरको चर्चित विषय भने बैठकको एजेन्डा थिएन।
बैठकमा पार्टीका शीर्ष पदाधिकारीसहित पूर्वपदाधिकारीहरूको उपस्थितिले हालको राजनीतिक र संगठनात्मक मुद्दामा कांग्रेस नेतृत्वको सक्रियता झल्किएको छ।




