मुख्य समाचार

रञ्जिता श्रेष्ठलाई २४ घण्टे चेतावनी : पार्टी सञ्चालनको हैसियत छ कि छैन ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको नेतृत्व संकट थप गहिरिँदै गएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई आफ्नै २० जना केन्द्रीय सदस्यहरूले २४ घण्टे अल्टिमेटम दिँदै केन्द्रीय समिति बैठक तत्काल बोलाउन दबाब दिएका छन्।

शुक्रबार काठमाडौँमा बसेको पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेलाले पार्टी विधानको दफा ४१, उपदफा ६ अनुसार औपचारिक बैठक माग गर्दै रञ्जितालाई अल्टिमेटमसहितको पत्र बुझाएको छ। नेताहरूको भनाइमा, पार्टी गम्भीर गतिरोधमा पुगेको बेला अध्यक्षको निष्क्रियता र उदासीनताले स्थिति झनै बिग्रिएको छ।

अल्टिमेटम दिने नेताहरूमा पुन्न बहादुर बुढा, विपद राम डगौरा, आलोक चौधरी, गंगाराम चौधरीलगायत छन्। उनीहरूको आरोप छ— पार्टीले आन्तरिक विवाद, गुटबन्दी र जनस्तरको आलोचना भोगिरहेको बेला अध्यक्षले बैठक बोलाउन पनि नचाहनु गम्भीर लापरवाही हो।

नेताहरूले चेतावनी दिएका छन् — “यदि रञ्जिता श्रेष्ठले २४ घण्टाभित्र बैठक नबोलाए, ११ गते काठमाडौँमै बैठक बसेर आवश्यक निर्णय लिइनेछ।” यस प्रकारको चेतावनीले पार्टी नेतृत्वप्रति आन्तरिक अविश्वास र असन्तुष्टि झनै प्रस्ट पारिदिएको छ।

नाउपा भित्र रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको शक्ति संघर्ष, घुस प्रकरणको आरोप, र पार्टी संचालनमा देखिएको गम्भीर निष्क्रियता मिलेर नेतृत्वको वैधता र कार्यक्षमता दुवैमाथि प्रश्न उठ्न थालेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *