काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अहिले ‘नागरिक प्रतिनिधित्व’ होइन, ‘निजी द्वन्द्वको अखडा’ बनेको छ। श्रीमान्–श्रीमतीको रूपमा चिनिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको सत्ता संघर्षले पार्टी केवल गुटबन्दी र स्वार्थको थलोमा सीमित भएको छ। झनै, ७८ लाख रुपैयाँको घुस प्रकरणको छायाँले यो झगडालाई गम्भीर राजनीतिक संकटमा रुपान्तरण गरिदिएको छ।
कास्की भूमि आयोग र मालपोत प्रमुखको सरुवा प्रक्रियामा भएको भनिएको करोडौंको ‘घुस डिल’मा रञ्जिता श्रेष्ठको नाम जोडिएपछि, पार्टीको नैतिक धरातल थप खस्किएको छ। रेशम चौधरीले केन्द्रीय समिति बैठक बोलाउँदै जवाफ माग गर्दा अध्यक्ष श्रेष्ठ भने बहिस्कारको बाटो समाउँदै अवैधानिकको ढाल ओढेर भागिरहेकी छन्।
तर राजनीतिक जवाफदेहिता भने भागेर टर्ने विषय होइन — यो बुझ्ने विवेक अहिले पार्टी नेतृत्वमा देखिँदैन। यो केवल विचारको लडाइँ होइन, न त आन्तरिक नीतिगत असहमति — यो हो, व्यक्तिवादी सत्ता चाहनाको निर्लज्ज प्रदर्शन। महाधिवेशनपछि अध्यक्ष पदका लागि सुरु भएको तनाव अहिले पार्टी अस्तित्वकै संकटमा पुगेर रोकिएको छ। जनमत पार्टीसँगको एकता प्रक्रिया भाँडियो, सुदूरपश्चिमको सरकारमा सशक्त उपस्थिति गुम्यो, र पार्टी गुटगत प्रतिस्पर्धाको बन्दी बन्यो। चौधरी–श्रेष्ठ दम्पतीले पार्टीलाई ‘संघर्षको सडकमै’ फ्यालिदिएका छन्।
रेशम चौधरीले पत्नी अध्यक्ष श्रेष्ठमाथि सार्वजनिक भिडियो सन्देशमार्फत आरोप लगाउनु पार्टीको आन्तरिक प्रक्रियाको अपमान मात्रै होइन, त्यो स्वयं पार्टीको व्यवस्थापनमा रहेको शून्यता पनि हो। “तपाईं भाग्न पाउनुहुन्न,” भन्दै उनले भिडियोमै आग्रह गर्दा, स्पष्ट देखिन्छ — पार्टीभित्र संवाद बन्द भइसकेको छ, औपचारिक निर्णय प्रक्रिया लोप भएको छ, र निजी भावनाले संस्थागत संरचना नियन्त्रणमा लिएको छ।
रेशम र रञ्जिता — जसले कहिल्यै जनताको पार्टी बनाउने सपना देखेको दाबी गर्थे — आज उनीहरूको व्यक्तिगत प्रतिष्ठा जोगाउने लडाइँमा पार्टीलाई बलिको बोको बनाइरहेका छन्। केन्द्रीय समिति बैठकहरू अलग–अलग गुटले बोलाउँछन्, एउटै मञ्चमा नेताहरू भेटिँदैनन्, र नेतृ सर्वोच्च पदमा रहेर सार्वजनिक आरोपको सामना गर्नै नमान्ने अवस्था छ।
‘नागरिक उन्मुक्ति’ भन्ने नाममा चलाइएको यो पार्टी अहिले न उन्मुक्त देखिन्छ, न नागरिकप्रति प्रतिबद्ध। घुस डिल, गुटबन्दी, नेतृत्वको पलायन र पारिवारिक प्रतिशोधको राजनीति — यी सबैले यो पार्टीलाई नेपाली राजनीतिमा विफलताको केस स्टडी बनाइदिएको छ।




