मुख्य समाचार

राप्रपाभित्रको असन्तोष चुलियो, लिङ्देनलाई निर्णय सच्याउन चार नेताको चेतावनी

काठमाडौं । राप्रपामा नेतृत्वको निर्णयमाथि गम्भीर असन्तोष चुलिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केही नेतामाथि गरेको कारबाहीप्रति चार जना वरिष्ठ नेताहरूले खुला आपत्ति जनाउँदै तत्काल निर्णय सच्याउन चेतावनी दिएका छन्।

नेता विक्रम पाण्डे, डा. धवलशमशेर राणा, कुन्ती शाही र मुकुन्दशयम गिरीले संयुक्त अपिल जारी गर्दै पार्टी विधानविपरीत कारबाही भएको र यो कदमले पार्टीभित्र गम्भीर चिन्ता र विभाजन निम्त्याएको बताएका छन्।

उनीहरूले खासगरी नेता नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएको, महामन्त्री डा. राणालाई संगठन विभाग प्रमुखबाट हटाइएको, सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट र धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिवबाट हटाइएको निर्णयलाई ‘स्वेच्छाचारी’ र ‘विधान विपरीत’ भनेका छन्।

अपिलमा भनिएको छ, “राजसंस्था र हिन्दू अधिराज्यजस्ता संवेदनशील मुद्दामा क्रियाशील नेताहरूमाथि यस्तो एकलौटी कारबाहीले पार्टीपंक्तिमा गम्भीर प्रश्न उठेका छन्। नेताहरूले पटक–पटक लिङ्देन नेतृत्वमा पार्टी संरचनाभित्र पदाधिकारी थप्ने र हटाउने कार्य विधानको व्यवस्था, प्रक्रिया र सीमाविना हुँदै आएको गुनासो पनि गरेका छन्। “अब समय आएको छ — विधानको सम्मान होस्, स्वेच्छाचारको अन्त्य होस्, र राप्रपाभित्र एकताको नयाँ युग सुरु होस्,” उनीहरूको अपिलमा उल्लेख छ। यो घटनाले राप्रपाभित्र गहिरिँदो गुटबन्दी र नेतृत्व संकटको संकेत दिएको छ। अब नेतृत्वले निर्णय सच्याउने कि विवाद अझ चर्किन्छ — त्यो हेर्न बाँकी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *