मुख्य समाचार

जनमत पार्टीमा ‘परिवारवाद’ विवाद : अध्यक्ष राउतको मौनता, कार्यकर्ताको चर्को असन्तुष्टि

काठमाडौं । जनमत पार्टीभित्र नेतृत्व चयनलाई लिएर तीव्र असन्तोष चुलिएको छ। अध्यक्ष डा. सिके राउतले आफ्नै दाजु डा. जयकान्त राउतलाई पुनः राष्ट्रिय उपाध्यक्षमा मनोनीत गरेपछि पार्टीभित्र खुला रूपमा ‘परिवारवाद’ को आरोप उठेको छ। जयकान्त यसअघि नै संगठन विभाग प्रमुख र राष्ट्रिय परिषद्का अध्यक्ष रहेका थिए। यति धेरै जिम्मेवारीहरू एकै व्यक्तिलाई दिँदा समर्पित नेताहरू उपेक्षित भएको भन्दै असन्तुष्टि झनै चर्किएको हो।

पार्टीका स्थायी समिति सदस्य दीपक साहले प्रेस विज्ञप्ति जारी गर्दै भने, “पार्टी नेतृत्वमा पारिवारिक सम्बन्धलाई प्राथमिकता दिनु संस्थागत राजनीतिमाथिको प्रहार हो। संघर्ष र योगदानको कदर नहुने हो भने यो पार्टीभित्रको निराशा अझै बढ्छ।” साहले अर्का उपाध्यक्ष दानबहादुर चौधरीको नियुक्तिमाथि पनि प्रश्न उठाएका छन्। उनी उपाध्यक्ष नरेन्द्र चौधरीका दाजु हुन्। दुई शीर्ष पदमा दाजुभाइको वर्चस्व देखिनुले पार्टीको मूल्य र आदर्शमै चोट पुगेको उनको तर्क छ।

पार्टीभित्र बढ्दो गुटबन्दी र पारिवारिक निर्णयप्रति आवाज उठाउँदै साहले नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। “जनमतको प्रारम्भिक जोश, परिवर्तनको आकांक्षा र वैकल्पिक राजनीतिको विश्वास अब शंकामा बदलिँदैछ,” उनले भने।

अध्यक्ष डा. सिके राउत भने यसबारेमा अहिलेसम्म मौन छन्, जसले कार्यकर्ताहरूबीच थप असमञ्जस र निराशा निम्त्याएको छ। अब नेतृत्वले यसप्रति कस्तो धारणा लिन्छ भन्ने कुराले पार्टीभित्रको विश्वासको भविष्य तय गर्ने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *