काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूभित्र गम्भीर फाटो आएको छ। संगठनका वर्तमान अध्यक्ष महेश श्रेष्ठप्रति असन्तुष्ट पक्षले नयाँ नेतृत्वसहित १६७ सदस्यीय समानान्तर केन्द्रीय समिति घोषणा गर्दै विद्रोहको बाटो समातेको छ।
नयाँ समितिको अध्यक्षमा नरेश न्यौपाने र महासचिवमा प्रकाश श्रेष्ठ चयन भएका छन्। उनीहरू नेतृत्वको असक्षमता, अपारदर्शिता र निर्णय प्रक्रियामा एकाधिकारको आरोप लगाउँदै आएका थिए।
घोषित सर्कुलर अनुसार, आगामी असार २१ गते नयाँ समितिको पदाधिकारी बैठक बस्नेछ, जहाँ सबै पदाधिकारीको कार्यविभाजन हुनेछ। केन्द्रीय सचिवालय गठन तथा साउनको पहिलो हप्ता काठमाडौंमा केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय पनि गरिएको छ।
साथै, सर्कुलरमा साउन १५ भित्र प्रदेश, जिल्ला, क्याम्पस तथा राष्ट्रिय कमिटीको सम्मेलन सम्पन्न गर्ने र छिट्टै केन्द्रीय महाधिवेशन गर्ने योजना उल्लेख गरिएको छ। महाधिवेशनको मिति र संगठनको उमेर सीमा सम्बन्धी निर्णय भने केन्द्रीय समिति बैठकबाट गरिने जनाइएको छ।
नयाँ समितिले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालमाथि सरकारले गरेको प्रतिशोध र षड्यन्त्रू विरुद्ध एकजुट भएर प्रतिवाद गर्ने घोषणा समेत गरेको छ। यस विभाजनले नेकपा एस भित्र मात्र नभई बृहत् वाम विद्यार्थी आन्दोलनमा पनि तरंग ल्याउने सम्भावना देखिएको छ।




