काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै लगातार संसद अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदमा पातलो उपस्थिति देखिएको छ । संसदमा विरोधको नाममा वेल अगाडि बस्ने परम्परा विकास गर्दै संसदको म¥यादा गुमाउन थालेपछि रास्वपाका प्रभावशाली नेताहरू भने देशबाहिरका कार्यक्रममा व्यस्त छन्। आजको बैठकमा रास्वपाका धेरै सांसदहरू अनुपस्थित थिए। कार्यवाहक सभापति डोलप्रसाद अर्यालदेखि सांसद तोसिमा कार्की, गणेश पराजुली, हरि ढकाल र सोविता गौतमसम्म हाल विदेश यात्रामा छन्। संसदीय उपस्थितिमा आएको यस ‘पातलो उपस्थिति’ का कारण पार्टीको आन्दोलनात्मक प्रभाव गम्भीर रूपमा खस्किएको छ।
कार्यवाहक सभापति अर्याल कतारमा छन् भने सांसद तोसिमा कार्की अमेरिका भ्रमणमा छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत प्रवासी नेपाली समुदायसँगका अन्तरक्रियात्मक कार्यक्रमको जानकारी सार्वजनिक गरेका छन्। सांसद गणेश पराजुली अष्ट्रेलियामा छन्, जहाँ उनले सिड्नी र क्यानबेरामा रास्वपा निकट नेपालीहरूसँग भेटघाट गरेका छन्।
त्यस्तै, सांसदहरू हरि ढकाल र सोविता गौतम भारतको बैंगलोरमा छन्। उनीहरूले रास्वपाको कर्नाटक राज्य समिति गठन गर्दै फेसबुकमा सक्रियता देखाएका छन्। रास्वपा स्रोतहरूभित्रै यस्तो ‘एकैपटकको विदेश लर्को’प्रति असन्तुष्टि देखिएको छ। संसदमा अवरोधको नाममा उपस्थिति जनाउँदै खाली कुर्सी छाड्ने र कार्यवाही बहिष्कार गर्ने शैलीले पार्टीको ‘संस्थागत विरोध क्षमता’ कमजोर भएको विश्लेषण गरिँदैछ।
रास्वपा लगातार सत्ता र परम्परागत राजनीतिक शैलीको आलोचक बन्दै आएको छ। तर आफ्नै सांसदहरूको कार्यशैली र विरोधको निरन्तरतामाथि प्रश्न उठिरहेका बेला, संसदको मञ्च छाडेर विदेश भ्रमण गर्नुले पार्टीभित्रको अनुशासन र प्राथमिकताको असन्तुलन झल्काएको छ। सत्तासाझेदार लगायत नेकपा माओवादी केन्द्रले समेत सरकारले गरेको सहमतिमा असहमति जनाउदै दैनिक संसद अवरुद्ध गरेपछि आपत्ति जनाउँदै आएका छन् । तर रास्वपा भने संसदको मर्यादा विपरित गतिविधि गर्दै आएका छन् । रास्वपाको अर्मायादित गतिविधिका कारण रास्वपाको आलोचना मात्र भएको छैन्,रास्वापको शाख समेत गिर्दै गएको छ ।




