राजनीति

संसदको अवरोध हटाउने विषयमा कांग्रेस–रास्वपाबीच छलफल

काठमाडौं । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्न सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच सोमबार पनि छलफल जारी छ। गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको गठनबारे अडान कायम रहेकाले सहमति टुंगिएको छैन।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको दुई पक्षबीचको छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी थिए भने रास्वपाबाट उपसभापति डा। स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

छलफलअघि प्रतिपक्षी दलहरूको आन्तरिक बैठक बसेको थियो। ती दलहरूले गृहमन्त्रीको तत्काल राजीनामा र छानबिन समिति गठनबिना सदन चल्न नदिने अडान दोहोर्याएका छन्। कांग्रेसले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनपछि मात्र अध्यागमनको विषयमा संसदीय वा अन्य समिति गठन गर्ने प्रस्ताव अघि सारेको छ। तर रास्वपा तथा अन्य विपक्षीहरू यसमा सहमत छैनन्।

रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्यालका अनुसार, ूकांग्रेससँग वार्ता भइरहेको छ, तर गम्भीरतापूर्वक हाम्रो माग सम्बोधन नभएसम्म सहमति गर्न गाह्रो छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भिजिट भिसा सेटिङ प्रकरणपछि उठेको विवादका कारण जेठ १३ देखि प्रतिनिधिसभा अवरुद्ध हुँदै आएको छ।

आज दिउँसो २ बजेका लागि बैठक तय गरिएको छ। तर छलफलले तत्काल सहमति निकाल्ने सम्भावना कम देखिएको छ। कांग्रेसले प्रस्तावित समितिले भविष्यमा अध्यागमन प्रणालीमा संरचनात्मक सुधार र कानुनी पुनरावलोकन गर्ने जनाएको छ, तर प्रतिपक्ष तत्कालीन राजनीतिक जवाफदेहिता खोजिरहेको देखिन्छ।

संसद् सञ्चालन र बजेटमाथिको बहस अघि बढाउन दबाब बढिरहेका बेला प्रमुख दलहरूबीचको यो संवाद निर्णायक मोडतिर उन्मुख हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *