बागमती प्रदेश

कार्यपालिका बैठक नबसी महानगर अस्तव्यस्त, मेयर बालेनलाई जनप्रतिनिधिको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई कार्यपालिका र नगरसभा बैठक तुरुन्त बोलाउन जनप्रतिनिधिहरूले तीव्र दबाब दिएका छन्। लामो समयदेखि बैठक नबसेपछि महानगरको नीतिगत निर्णयदेखि बजेट निर्माणसम्मको प्रक्रिया ठप्प जस्तै भएको भन्दै जनप्रतिनिधिहरू आक्रोशित छन्।

बिहीबार बसेको अनौपचारिक छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका जनप्रतिनिधिहरू सहभागी थिए। वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनका अनुसार, डेढ सयभन्दा बढी नगरसभा सदस्यहरूको सहभागितामा मेयर साहलाई औपचारिक बैठक तत्काल बोलाउन आग्रह गरिएको हो।

महर्जनले भने, “पुसयता कार्यपालिका बैठक बसेको छैन, जुन स्थानीय सरकार सञ्चालन ऐनविपरीत हो। बजेट ल्याउने अन्तिम म्याद नजिकिँदै जाँदा पनि बैठक नबसी ढिलासुस्ती हुनु गम्भीर हो।”

जनप्रतिनिधिहरूका अनुसार, कार्यपालिका बैठक नबसेका कारण आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणको प्राथमिकता तय गर्नसमेत नसकिएको छ। मेयर साहको नेतृत्वमा गठन भएको सीमा निर्धारण समिति बैठक समेत नबसेको जनाइएको छ।

महर्जनले मेयरको शैलीप्रति प्रश्न उठाउँदै भने, “कहिले नेताको शव गाड्ने भन्ने, कहिले सिंहदरबारमा आगो लगाउने भन्ने अभिव्यक्ति दिनुभए पनि, नगरभित्र उहाँले नेतृत्वदायी भूमिका लिन नसक्दा समस्या थपिएको छ।”

स्थानीय सरकार सञ्चालन ऐन अनुसार, कार्यपालिका र नगरसभा दुवै बैठक नगरप्रमुखले नै बोलाउनुपर्ने हुन्छ। तर, बालेनले बैठक नबोलाउँदा नीतिगत काम, बजेट निर्माण र जनप्रतिनिधिहरूको भूमिकामै अन्योलता छाएको जनाइएको छ।

जनतासामु जवाफदेही बन्नुपर्ने जिम्मेवार पदमा बसेका व्यक्तिबाट नै बैठक टारिँदा महानगरको कामकाज प्रभावित भएको भन्दै जनप्रतिनिधिहरूले मेयर साहलाई तुरुन्त संवाद र सहकार्यमा फर्किन आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *