काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अहिले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारासहित दोस्रो चरणको आन्दोलनमा छ। तर पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भने यस आन्दोलनको औचित्यमाथि गम्भीर प्रश्न उठाइरहेका छन्। पार्टीभित्र ऊर्जा खिइँदै गएको, तालमेलको अभाव रहेको र नेतृत्व कमजोर भएको उनको ठोस टिप्पणी छ।
खनालले पार्टीको समाजवादी दस्तावेज अझै सार्वजनिक नभएकोप्रति असन्तुष्टि व्यक्त गरे। दसौं महाधिवेशनपछि झन्डै एक वर्ष बित्दा पनि समाजवादको स्पष्ट खाका सार्वजनिक हुन नसक्दा आन्दोलनको आधार नै कमजोर भएको उनको ठम्याइ छ।
खनाल भन्छन्, “हाम्रो लक्ष्य के हो भन्ने कुरा कार्यकर्ता र जनतामाझ पुर्याउन नसक्दा ठूला आन्दोलनको सशक्त आधार तयार भएको छैन।” उनका अनुसार आन्दोलन योजनाबद्ध, उद्देश्यसहित र आत्मगत तयारीका साथ हुनुपर्छ, जुन हाल देखिएको छैन। विचार र कार्यबिच तालमेल नदेखिएकोमा खनाल स्पष्ट छन्। “हाम्रो नेतृत्वले तालमेलको कमी गम्भीर ढंगले महसुस गर्नुपर्ने हो। तर त्यहाँ कमजोरी देखिएको छ,” उनले भने। खनालका अनुसार पार्टीमा संगठनात्मक ढाँचा, कार्यक्रम र रणनीति एकरूपता नहुँदा आवश्यक ऊर्जा गुम्दै गएको छ।
खनाल र पार्टी अध्यक्ष माधवकुमार नेपालबीच संवाद बन्द भएको चर्चाबारे सोधिएको प्रश्नमा उनी स्पष्ट नबने पनि पार्टीभित्र वैचारिक गडबडी देखिएको बताए। “वैज्ञानिक समाजवाद र बहुदलीय जनवादबीच नेतृत्व तहमा द्विविधा छ,” उनले भने, “यस्तो अवस्थामा पार्टीको विकासमा खग्रास चन्द्रग्रहण लाग्छ।”
पतञ्जलि समूहसँग जोडिएको जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि उठेका प्रश्नबारे खनालले पार्टीको सचिवालय बैठक आवश्यक भएको बताए। “यदि मिडियामा आएका कुरा सत्य हुन् भने छलफल अपरिहार्य छ, झूठा हुन् भने खण्डन गर्नुपर्छ,” उनको सुझाव छ।
खनालले पार्टीको भविष्य समाप्त हुने त होइन तर वैचारिक, राजनीतिक र संगठनात्मक पुनर्गठनको आवश्यकता अझ तीव्र भएको बताए। “हामी पार्टीलाई पुनः व्यवस्थित, रूपान्तरित गरी नयाँ उचाइमा पुर्याउने संकल्पमा अडिग छौँ,” उनले जिकिर गरे।
झलनाथ खनालका अभिव्यक्तिहरूबाट नेकपा समाजवादीको आन्तरिक अवस्था, वैचारिक द्विविधा, नेतृत्वको कमजोरी र दिशाहीन आन्दोलनको अवस्थाबारे गहिरो सन्देश आउँछ। उनले उठाएका प्रश्नहरू केवल व्यक्तिगत असन्तुष्टि होइनन्, त्यो सिंगो पार्टीको दिशा पुनः सोच्नुपर्ने समय आएको संकेत हो।




