बागमती प्रदेश

नगर प्रहरी प्रमुखको आचरणमाथि प्रश्न, एसएसपी पाण्डेले बुझाए स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले आफूविरुद्ध सोधिएको सात बुँदे स्पष्टीकरण पत्रको जवाफ पेस गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष पाण्डेले सोमबार लिखित रूपमा आफ्नो पक्ष राख्दै स्पष्टीकरण बुझाएका हुन्। उनलाई जेठ ६ गते अनुशासनहीन व्यवहार गरेको, सञ्चार माध्यममा अनधिकृत रूपमा बोल्ने, र जनप्रतिनिधिसँग अभद्र आचरण प्रदर्शन गरेको आरोपमा स्पष्टिकरण सोधिएको थियो।

“पाण्डेबाट आज स्पष्टीकरण आएको छ, तर मैले अझै पूरै पढ्न भ्याएको छैन,” प्रशासकीय प्रमुख गुरागाईंले अनलाइनखबरसँग छोटो प्रतिक्रिया दिँदै भने, “पढिसकेपछि मात्रै थप निर्णयबारे भन्न सकिन्छ।”

महानगरका अनुसार, पाण्डेले यदि सात दिनभित्र स्पष्टीकरण नबुझाएमा वा बुझाएको जवाफ चित्तबुझ्दो नभए कानुनी कारबाही अघि बढाइने चेतावनी पत्रमै उल्लेख गरिएको थियो।

स्पष्टीकरणपत्रमा पाण्डेले आफ्ना गतिविधिहरू सेवा अनुशासनभित्र सीमित रहेको दाबी गरेका छन् वा अन्य विवरण के छन् भन्ने जानकारी भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

काठमाडौं महानगरपालिकाभित्र हालैका दिनमा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा देखिएको तिक्तता यस घटनासँग पुनः उजागर भएको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *