काठमाडौं । काठमाडौं महानगरपालिकामा नेतृत्व तहमा चर्किएको आन्तरिक द्वन्द्वका कारण मेयर बालेन्द्र शाह (बालेन) अहिले प्रशासनिक र राजनीतिक रूपमा एक्लिँदै गएका छन्। सामाजिक सञ्जालमा सक्रिय, सशक्त जनादेश बोकेका स्वतन्त्र मेयरको शैली अहिले महानगरभित्रकै कर्मचारी र जनप्रतिनिधिमाझ विवादको मुख्य कारण बनेको छ।
चार महिनादेखि कार्यपालिका बैठक नबसेको, प्रशासकीय अधिकृतसँग संवाद नै बन्द भएको, र उपमेयर सुनिता डंगोलसँग पनि दूरी बढेको अवस्था स्पष्ट रूपमा देखिएको छ। कार्यसम्पादनभन्दा सन्देश–सामग्रीमा केन्द्रित बालेनको नेतृत्वमा अहिले महानगरका नीतिगत काम ठप्प छन्।
तीन तहको समन्वयविहीनता
महानगरका तीन मुख्य पदाधिकारी — मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीच गहिरो अविश्वास देखिएको छ। बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारको आरोप लगाउँदै कार्यस्थलमै प्रवेश रोक्ने आदेश दिएपछि विवाद उत्कर्षमा पुगेको थियो। आफैंले गठन गरेको छानबिन समितिले गुरागाईंलाई दोषी ठहर गर्न नसक्दा बालेनले प्रतिवेदन नै अस्वीकार गरे।
उपमेयरसँगको टकराव
सुनिता डंगोल र बालेनबीचको दूरी प्रशासकीय अधिकृतको प्रकरणबाट सुरु भयो। सुनिताले गुरागाईंलाई कार्यालय प्रवेश गराउन सहजीकरण गरिन्, तर केही समयमै उनले एमालेको कार्यक्रममा बालेनलाई लक्षित गर्दै “स्टन्ट गरेर देश बन्छरु” भन्ने अभिव्यक्ति दिएकी थिइन्। त्यसयता दुवैको सम्बन्ध चिसिएको छ।
कार्यपालिका बैठक ठप्प
चार महिनादेखि कार्यपालिका बैठक नबसेपछि नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रिया प्रभावित भएको छ। कानुनीरूपमा महिना–महिनामा बस्नुपर्ने बैठक नहुँदा सबै नीति निर्माण प्रक्रिया ठप्प छ। वडाध्यक्षहरू बैठकको माग गरिरहे पनि मेयर अल्पमतमा परेका कारण बैठक डाक्न हिचकिचाइरहेका छन्।
वडाध्यक्षहरूको असन्तुष्टि
३२ मध्ये अधिकांश वडाध्यक्ष बालेनप्रति असन्तुष्ट छन्। कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरू उपमेयर डंगोलको पक्षमा देखिँदा बालेन थप एक्लिएका छन्। चार वडाध्यक्षलाई हटाएर ल्याइएका नयाँ संयोजकहरूमध्ये तीनले जिम्मेवारी लिन अस्वीकार गरेपछि समितिहरू नै निष्क्रिय बनेका छन्।
राजनीतिक र प्रशासनिक सुझबुझको अभाव
बालेनको कामप्रतिको इमानदारी र जनताप्रतिको उत्तरदायित्व देखिए पनि उनले नेतृत्वमा समन्वय, संवाद र राजनीतिक लचकता देखाउन नसकेको आलोचना बढ्दो छ। सरकार, उपमेयर, वडाध्यक्ष र कर्मचारीसँग टकरावमा उत्रँदा जनताले अपेक्षा गरेका धेरै कामहरु ओझेलमा परेका छन्।
के अब पनि पुरानै तरिकाले सम्भव छ ?
बालेनको फेसबुकमा साहसी र असल नेता देखिने छवि प्रशासनिक अभ्यासमा भने कमजोर साबित भइरहेको छ। समन्वयबिना काम अड्किन्छ भन्ने यथार्थ चाँडै स्वीकार नगरे, सामाजिक सञ्जालमा देखिएको ‘लोकप्रियता’ प्रशासनिक जिम्मेवारी सम्हाल्न पर्याप्त नहुन सक्छ। बालेनका केही पहलहरु सकारात्मक भए पनि महानगर चलाउन संवाद, समन्वय र लचकता अपरिहार्य हुन्छ। बालेनले यदि नेतृत्व क्षमताको सन्तुलन खोज्न सकेनन् भने, राजधानीको परिवर्तनको सपना सँगै उनी स्वयं पनि राजनीतिक रूपमा कमजोर हुने खतरा देखिन्छ।




