मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह नजरबन्दमा नरहेको निर्मल निवासको प्रस्टोक्ति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारद्वारा अघोषित नजरबन्दमा राखिएको भनाइको निर्मल निवासले खण्डन गरेको छ। पूर्वराजाका संवाद सचिव फणिराज पाठकले सामाजिक सञ्जालमार्फत उक्त खबरमा कुनै सत्यता नरहेको प्रस्ट्याएका हुन्।

आज बिहानदेखि सामाजिक सञ्जालमा पूर्वराजा शाहलाई निर्मल निवासमै नजरबन्द गरिएको चर्चा चल्न थालेपछि निर्मल निवासले औपचारिक प्रतिक्रिया दिएको हो। पाठकले फेसबुकमा लेख्दै भने, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता छैन।

निर्मल निवास स्रोतका अनुसार पूर्वराजा शाहको दैनिकी सामान्य रूपमा चलिरहेको छ। कुनै प्रकारको सरकारी हस्तक्षेप वा नजरबन्दजस्तो अवस्था नरहेको र पूर्वराजा शाह आफ्ना व्यक्तिगत र सामाजिक गतिविधिमा सक्रिय रहेको जनाइएको छ। हालैका दिनहरूमा सामाजिक सञ्जालमा पूर्वराजा सम्बन्धी विभिन्न अफवाह फैलिरहेका छन्। निर्मल निवासले यसलाई पूर्णतः निराधार भनी खारेज गर्दै सत्यतथ्यमा आधारित समाचारमात्र विश्वास गर्न आग्रह गरेको छ।

सरकार वा सम्बन्धित निकायले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया नदिएको भए पनि निर्मल निवासले दिएको प्रष्टोक्तिले सामाजिक सञ्जालमा फैलिएको हल्लालाई केही हदसम्म मत्थर बनाएको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *