काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दै, नेपाल सरकारले सार्वजनिक गरेको आतंकवादविरोधी अडानको स्वागत गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले, पहलगाम घटनामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको उल्लेख गर्दै आतंकवादले कसैको हित नगर्ने धारणा राखे।
खनालले भने, “भारत–पाकिस्तानबीचको बढ्दो तनावले क्षेत्रीय स्थायित्वमा असर पार्न सक्छ, सार्कको अध्यक्षका रूपमा नेपालले यसको चासो लिनुपर्छ।” उनले पाकिस्तानमा रहेका ८० नेपाली विद्यार्थीको सुरक्षामा तत्काल ध्यान दिनुपर्ने, साथै सम्भावित सुरक्षा, आर्थिक र आपूर्ति संकटको आकलन गरी तयारी योजना बनाउन सरकारलाई आग्रह गरे।
सांसद खनालले समग्र परिस्थितिबारे संसदलाई जानकारी गराउन र आवश्यक निर्णय गर्न सभामुखसँग रुलिङको मागसमेत गरेका छन्।




