मुख्य समाचार

बालेन र जनप्रतिनिधिबीचको विवादले महानगरपालिको बजेट छलफलबिहीन

काठमाडौं । नयाँ आर्थिक वर्षको तयारीमा अन्य स्थानीय तहहरू जुटिरहेका बेला काठमाडौं महानगरपालिकामा भने अझै बजेटसम्बन्धी छलफल सुरु हुन सकेको छैन।

बजेट प्रक्रिया थाल्नुपर्ने यो बेलामा मेयर बालेन शाह र अन्य जनप्रतिनिधिबीचको विवाद गहिरिँदै गएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर चलेको विवादले कार्यपालिका बैठक रोकिएको छ, जसले नीति तथा कार्यक्रम निर्माण प्रक्रिया नै अन्योलमा पारेको हो।

उपमेयर सुनिता डंगोलका अनुसार, मेयरले बजेटको सीमा निर्धारण नगरेका कारण बजेट निर्माण प्रक्रियाको पहिलो चरणमै रोकिएको छ। “बजेटको सन्दर्भमा अहिलेसम्म छलफल नै सुरु भएको छैन,” उनले भनिन्।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक महिना कार्यपालिका बैठक बस्नुपर्ने प्रावधान छ। तर, चार महिनादेखि बैठक बसेको छैन। यसै कारण आगामी वर्षका योजना, प्राथमिकता र बजेटमा के समावेश गर्ने भन्ने विषयमा कुनै छलफल हुन सकेको छैन।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने कर्मचारीहरूले आन्तरिक तयारी गरिरहेको जनाएका छन्। तर, बैठक नबसी नीति कार्यक्रम अगाडि बढ्न नसक्ने स्पष्ट छ।

नेपाली कांग्रेससहितका १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले मेयर बालेनलाई कार्यपालिका बैठक राख्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका थिए। तर, मेयरको चुप्पी कायमै छ।

विकास योजनाहरू थाल्नुपर्ने बेला राजधानीको नेतृत्वभित्रको विवादले समग्र प्रक्रियालाई अवरुद्ध पारेको छ। यसको प्रत्यक्ष असर काठमाडौँका नागरिकमा पर्ने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *