काठमाडौं । नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन फेरि हिंसात्मक झडपमा परिणत भएको छ। विवादले चर्को रुप लिँदै जाँदा कार्यकर्ताबीच रडसमेत प्रहार हुँदा कम्तीमा तीन जना गम्भीर घाइते भएका छन्।
झडप एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच भएको हो। राजन यादव, सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको पुष्टि भएको छ भने अन्य धेरै कार्यकर्तालाई सामान्य चोट लागेको छ। घटना जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा भएको हो।
स्थानीय सुरक्षाकर्मीको उपस्थिति हुँदाहुँदै पनि सभाहलभित्रै सुरु भएको कुटाकुट नियन्त्रणबाहिर पुगेको थियो। प्रारम्भमा हलभित्र धर्ना बसेका अरगरिया समर्थकहरू र बाहिर प्रदर्शन गरिरहेका रघुवीर समूहका कार्यकर्ताबीच शारीरिक झडप भएको हो।
विवादको मूल कारण अधिवेशनमा विधान विपरीत परेको उम्मेदवारी खारेजको विषय रहेको बताइएको छ। अरगरिया पक्षले उम्मेदवारी खारेजको माग गरे पनि रघुवीर समूहले यसको विरोध गर्दै कुटाकुट सुरु गरेको अधिवेशन प्रतिनिधिहरूको भनाइ छ।
अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवका अनुसार, “भित्र छलफलपछि बाहिर निस्किने बित्तिकै हाम्रो पक्षमाथि कुटपिट थालियो।” उनले स्थिति अत्यन्तै तनावपूर्ण भएको बताए।




