मुख्य समाचार

कोशी लगानी सम्मेलनमा डेढ खर्बको प्रतिबद्धता, ४६ परियोजनामा लगानी सम्झौता

काठमाडौं । कोशी प्रदेशमा आयोजित पहिलो लगानी सम्मेलनमार्फत ४६ वटा परियोजनामा लगानीको सहमति प्राप्त भएको छ। दुई दिनसम्म चलेको सम्मेलनमा १ खर्ब ५२ अर्ब १९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइएको हो।

कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनको समापनसँगै लगानीकर्ताहरूले कृषि, उद्योग, पर्यटन, ऊर्जा र प्रविधिका विभिन्न क्षेत्रमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार, कोदोको रक्सी उत्पादनदेखि आधुनिक प्रविधियुक्त कृषि उद्यमसम्मका योजनामा लगानी गरिने छ।

७१ परियोजना सोकेस, ४६ मा प्रत्यक्ष समझदारी

सम्मेलनमा प्रदेश सरकारले ७१ वटा परियोजनालाई सोकेसिङका रूपमा प्रस्तुत गरेको थियो। तीमध्ये ४६ परियोजनामा लगानीकर्ताहरूले प्रत्यक्ष रूपमा चासो देखाउँदै समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। यसले कोशी प्रदेशमा वैदेशिक र आन्तरिक लगानीको सम्भावना बढाएको प्रदेश सरकारले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका सम्मेलनमा भारत, चीन, बंगलादेश, क्यानडा, कोरिया लगायतका देशबाट लगानीकर्ताहरू सहभागी भएका थिए। कोइरालाका अनुसार, अब सम्झौता भएको योजनाहरूलाई कार्यान्वयनमा लैजान प्राधिकरणले योजना कार्यान्वयन ट्रयाक तयार गरिसकेको छ।

लगानी भएका प्रमुख क्षेत्रहरू ः

कृषि व्यवसाय र प्रशोधन उद्योग

पर्यटन पूर्वाधार

लघु, साना तथा मझौला उद्योग

ऊर्जा उत्पादन र वितरण

सूचना प्रविधि तथा नवप्रवर्तन

कोशी प्रदेश सरकारले लगानीमैत्री नीति र प्रक्रियागत सहजता ल्याउँदै आगामी दिनमा लगानी प्रवाहलाई तीव्र बनाउने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *