मुख्य समाचार

आरआर क्याम्पसमा निर्विरोध स्ववियु निर्वाचन विवादमा , नेविसंघको विरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आरआर क्याम्पसमा स्ववियु निर्वाचन निर्विरोध घोषणा गरिएको छ। तर यो प्रक्रियाले सत्तारूढ विद्यार्थी संगठन नेविसंघ भित्र गहिरो असहमति र आन्तरिक विवाद सतहमा ल्याएको छ।

चैत ५ मा तय गरिएको स्ववियु निर्वाचन पटक–पटक स्थगित भएपछि अन्ततः छात्र संगठनहरूको सहमतिमा निर्वाचन निर्विरोध सम्पन्न गरिएको हो। अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघबीच सहमति गरी निर्वाचन समितिमा हस्ताक्षरसहित पदाधिकारीहरू घोषित गरिएको थियो।

निर्विरोध प्रक्रियाबाट अनेरास्ववियुका लोकेश खड्का अध्यक्ष, अखिल क्रान्तिकारीका संगम लामा उपाध्यक्ष र नेविसंघका शैलेन्द्र उपाध्याय सचिव बनेका छन्। तर, नेविसंघका सभापति उम्मेदवार विनोदराज जोशी भने यस निर्णयप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जाने तयारीमा छन्। उनले स्ववियुमा सर्वसम्मति हुने कुरा मनोनयन फिर्ता लिनुअघि हुनुपर्ने बताए। “मलाई बाइपास गर्दै गरिएको यो प्रक्रिया लोकतान्त्रिक अभ्यासविपरीत छ,” उनले प्रतिक्रिया दिए।

नेविसंघको केन्द्रीय नेतृत्वले पनि आरआर क्याम्पसमा रहेको इकाइ समिति भंग गरेको जनाएको छ। अध्यक्ष दुजाङ शेर्पाले निर्विरोध प्रक्रियामा संलग्न रहेर पद लिने नेतालाई स्पष्टिकरण मागेका छन्।

जोशी निकट भनिने दुजाङ शेर्पाले संस्थापन पक्षकै नेताहरू—अशोक सिंह विष्ट, अनुराग शाह र जितेन्द्र तिमल्सिनामाथि गम्भीर प्रश्न उठाएका छन्। यी नेताहरूले अनेरास्ववियु र अखिलसँग मिलेर जोशीलाई पन्छाउने रणनीति बनाएको आरोप लागेको छ।

चुनाव प्रक्रियाबाट अघोषित रूपमा वञ्चित गरिएको जोशीको आक्रोशसँगै आरआर क्याम्पसको स्ववियु निर्वाचन विवादले अब कानुनी मोड लिने सम्भावना देखिएको छ। उता निर्वाचन समितिले सबै संगठनका हस्ताक्षरसहित प्रक्रिया पूर्ण भएको जनाउँदै चुनाव रद्द नहुने संकेत दिएको छ।

यसरी, चुनावी सहमतिका नाममा आरआर क्याम्पसमा देखिएको सत्ता साझेदारीको अभ्यासले नेविसंघ भित्रको गहिरो फुट उजागर गर्दैछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *