मुख्य समाचार

शिक्षामन्त्री पन्तलाई तामाङको खुला पत्र : शिक्षा सुधारका ११ बुँदे सुझाव

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पदभार सम्हालेपछि उनको अनुभव र क्षमतामा विश्वास व्यक्त गर्दै नेकपा एमालेका नेता शेरबहादुर तामाङले शिक्षा क्षेत्र सुधारका लागि ११ बुँदे सुझावसहित शुभकामना दिएका छन्।

तामाङले सामाजिक सञ्जालमार्फत मन्त्री पन्तलाई बधाई दिँदै शिक्षा प्रणाली सुधारमा देखिएको चुनौती र सम्भावनाहरूको उल्लेख गर्दै सुधारका प्राथमिक क्षेत्रबारे स्पष्ट धारणा प्रस्तुत गरेका छन्। उनले पन्तलाई कुशल वक्ता, निडर व्यक्तित्व र अनुभवी पत्रकारसमेतका रूपमा चिनाउँदै आफू उनलाई दीर्घकालीन सुधारको वाहकको रूपमा हेरेको बताएका छन्।

“जिम्मेवारी पटक–पटक आउँदैन, आएको बेला गरेर देखाउने हो,” भन्दै तामाङले अहिलेको अवसरलाई पन्तले परिणाममुखी रूपमा उपयोग गर्ने विश्वास व्यक्त गरेका छन्। उनले पन्तबारे समाजमा रहेका मिश्रित धारणाको सन्दर्भ उठाउँदै सकारात्मक बुझाइलाई स्वागत गरेका छन् भने नकारात्मक विचारलाई कामले बदल्नुपर्ने उल्लेख गरेका छन्।

तामाङका ११ बुँदे सुझाव संक्षेपमा यस्ता  :

१. विद्यालय शिक्षालाई बिहानी सिफ्टमा चलाउने (यस विषय र यसबाट हुने लाभको बारेमा विस्तृत रूपमा तपाईँसँग लिखित रूपमा भेटमा राख्नेछु ।)

२. वर्तमान शिक्षक आन्दोलनलाई वार्ताद्वारा तत्काल समाधान गर्ने ।

३. विद्यालय शिक्षामा नेपाली मोरल एण्ड भ्यालुज पढाउने गरी नैतिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला ।

४. समृद्ध राष्ट्र निर्माण गर्ने आधार नै शिक्षा भएकोले विद्यालय शिक्षादेखि नै नेपाली उत्पादन, नेपालको माटो, नेपालको प्राकृतिक साधन स्रोत र नेपालमै हुने आम्दानीको बारेमा पढाउने व्यावसायिक शिक्षाको पाठ्यक्रम तयार गर्न लाग्नुहोला ।

५. सम्भव भए डिप्लोमा पास गरे पछि मात्रै नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जाने व्यवस्था मिलाउन कोसिस गर्नुहोला ।

६. विदेशी युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेजहरूले जति पनि विद्यार्थी भर्ना गर्न पाउने तर नेपालका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजहरूलाई सीमित कोटा तोक्ने र नियोजन गर्ने कुरा तत्काल बन्द गर्नुहोला ।

७. विद्यालयहरूको तत्काल म्यापिङ थाल्नुहोला र विद्यालयहरूलाई मर्ज गरेर आवासीय सुविधासहितको बिग स्कुलको अवधारणा लागु गर्नुहोला ।

८. विद्यालयहरूलाई दिउँसोको सिफ्टमा व्यावसायिक तालिम केन्द्रको रूपमा विकास गर्न कार्यक्रम अगाडि बढाउनुहोला ।

९. काम गर्दै छ पढ्दै छ कार्यक्रमको बारेमा अध्ययन थाल्नुहोला ।

१०. प्राविधिक तथा व्यावसायिक शिक्षामा बढी ध्यान दिनुहोला ।

११. सम्भव भए सबै शिक्षक कर्मचारी तथा सरकारी तलब भत्ता खाने व्यक्तिहरूले सार्वजनिक विद्यालयहरूमा बालबच्चा पढाउनुपर्ने व्यवस्था लागू गर्ने ।

नेता तामाङले सुझावपत्र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ। यसले मन्त्री पन्तको कार्यकालप्रति सार्वजनिक चासो र अपेक्षा दुवै उच्च रहेको संकेत पनि गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *