काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मेयर बालेन शाहतर्फ संकेत गर्दै सामाजिक सञ्जालमा गालीगलौज र स्टन्ट शैलीको राजनीतिले देश नबन्ने टिप्पणी गरेकी छन्। लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा उनले बालेनप्रति यस्तो कटाक्ष गरेकी हुन् ।
डंगोलले युवा शक्ति देश निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै भनिन्, “जब जब युवा एकजुट हुन्छन्, तब तब असम्भव भनिएका कुरा सम्भव हुन्छन्। सफलता उनीहरूले पाउँछन्, जसले कहिल्यै हार मान्दैन।”
उनको भनाइमा साँचो युवा त्यो हो जसले सत्य खोज्छ, विश्लेषण गर्छ र समाधानतर्फ अघि बढ्छ। उमेरले मात्र होइन, सोच र कामले पनि मानिस युवा हुने धारणा उनले व्यक्त गरिन्।
कार्यक्रममा बोल्दै डंगोलले स्पष्ट रूपमा भनिन्, “स्टन्ट गरेर देश बन्दैन, गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना बनाउनु पर्छ, योजना अनुसार काम गर्नुपर्छ।” उनले एमालेमा आफ्नो आवद्धता कारण प्रस्ट्याउँदै भनिन्, “एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, समस्याबाट भाग्न होइन, समाधान गर्न सिकाउँछ।”
उनको टिप्पणी काठमाडौंका मेयर बालेन शाहको हालैको सामाजिक सञ्जाल केन्द्रित शैलीप्रति आलोचनात्मक रूपमा लिइएको छ। डंगोलको भाषणले बालेन–डंगोल सम्बन्धमा चलिरहेको राजनीतिक रस्साकस्सीलाई थप सार्वजनिक रूप दिएको देखिन्छ।
युवा र नेतृत्वबीचको सहकार्य र सोचको अन्तरले नेपाली राजनीतिको आगामी बाटो कता मोडिन्छ भन्ने बहस यसैका वरिपरि घुमिरहेको छ।




