काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा फेरि एक पटक चिनाएकी छन्। उनी सन् २०२५ का लागि विश्व आर्थिक मञ्चको ग्लोबल युथ लिडर्स फोरममा छनोट भएकी हुन्।
यो फोरममा ५० भन्दा बढी देशका युवा नेताहरू सहभागी छन्, जहाँ डङ्गोलले सरकार क्षेत्रको प्रतिनिधित्व गर्दै सो फोरममा चयन भएकी हुन् । दक्षिण एशियाबाट चयन भएका ११ प्रतिनिधिमध्ये नेपालबाट उनी एकमात्र हुन्। फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १०, आर्ट, कल्चर एण्ड स्पोर्टस्बाट ८, व्यापारिक क्षेत्रबाट ४९, नागरिक समाजबाट ११, मिडियाबाट ५, सरकारबाट १९ र सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएका छन् ।
ूनेतृत्वको जिम्मेवारी अझ बढेको महसुस भएको छ, चयनपश्चात डङ्गोलले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्। उनले विश्वभरका युवा नेताहरूसँग सहकार्य गर्दै युवा नेतृत्व विकासमा योगदान दिने प्रतिबद्धता जनाएकी छन्।
फोरममा शिक्षादेखि व्यवसाय, कला, मिडिया, सामाजिक उद्यमशीलता लगायतका विभिन्न क्षेत्रका युवा समावेश छन्। अध्यक्ष निकोल स्वाबका अनुसार, फोरमले नवप्रवर्तन र एआई जस्ता प्रविधिमार्फत विश्वमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ।
सन् २००४ मा स्थापना भएको यो फोरममा हालसम्म १२० देशका १,४०० भन्दा बढी सदस्य भइसकेका छन्। सुनीता डङ्गोलको चयनले नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरमा आवाज दिने अवसर थप बलियो बनाएको छ।




