
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र निलम्बित पोलिटब्युरो सदस्य विन्दा पाण्डेबीच मंगलबार ४५ मिनेट लामो कुराकानी भएको छ। भेट राजनीतिक औपचारिकताभन्दा बढी ‘नभएका संवादहरु’ पूरा गर्ने प्रयास जस्तो देखिएको छ।
नयाँ वर्षको अवसरमा ओलीले शुभकामनाका लागि पाण्डेलाई फोन गरेपछि उक्त भेटको थालनी भएको हो। पाण्डे ६ महिना अगाडि पार्टी अनुशासन उल्लंघनको आरोपमा निलम्बित भएकी थिइन्, तर निलम्बनसम्बन्धी कुनै आधिकारिक पत्र भने उनलाई प्रदान गरिएको थिएन। ओलीलाई समेत यो विषय थाहा हुन ६ महिना लाग्यो भन्ने खुलासा भएको छ।
भेटमा ओलीले विगत बिर्सेर पार्टी काममा फर्कन आग्रह गरे भने, पाण्डेले आफूले तयार पारेको पुस्तक ‘भुइँमान्छे’ उपहार दिइन्। पुस्तक भूमिगत कालखण्डका नायक र समर्थकहरुमाथि केन्द्रित छ। उनले किताब पार्टी प्रचार विभागबाट पास गराउनुपर्ने बाध्यताप्रति असन्तुष्टि पनि पोखिन्।
ओलीले सेन्सरसिपजस्तो सोच गलत भएको बताएका छन् र पार्टीभित्र अनुशासनसहित स्वतन्त्र अभिव्यक्तिको सुनिश्चितता रहने बताए। पाण्डेको प्रतिक्रियाबाट उनको निलम्बन फुकुवाको संकेत पाइए पनि, पार्टीले यसबारे आधिकारिक धारणा भने दिएको छैन।