काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने प्रदर्शनमा भएको फोहोर र क्षतिको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिँदै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको निर्णय विवादको केन्द्रमा पुगेको छ। मेयर बालेन्द्र शाह ९बालेन०ं को यो कदमले समर्थन र विरोध दुवै उत्पन्न गरेको छ।
महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८१ को आधारमा जरिवाना तोकेको जनाएको छ। तर, पूर्वराजा प्रदर्शनका आयोजक नभएको भन्दै उक्त पत्र लिन अस्वीकार गरेपछि महानगरले हुलाकमार्फत क्षेतिपूर्तिको पत्र पठाएको थियो । पूर्वराजालाई जरिवाना गर्ने निर्णयमा एमाले नेताहरू बालेनको समर्थनमा उभिएका छन्।
महानगरको टोली आइतबार निर्मल निवास पुगेको थियो, तर सुरक्षाकर्मीहरूले यो प्रदर्शन पूर्वराजासँग सम्बन्धित नरहेको भन्दै पत्र लिन अस्वीकार गरे। महानगरलेपछि हुलाकबाट पठाएको थियो तर अहिलेसम्म पनि निर्मल निवासले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसैबीच, राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिले बालेनको निर्णयविरुद्ध अदालत जाने भन्दै महानगरपालिकालाई दबाब दिएको बुझिएको छ । संयोजक जगमान गुरुङले जरिवाना फिर्ता नलिए कानुनी उपचार खोज्ने संचारमाध्यमहरुमा बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, रामकुमारी झाँक्री लगायतका नेताहरूले प्रदर्शनको प्रमुख जिम्मेवार पूर्वराजा भएको बताएका छन्। झाँक्रीले राजावादी प्रदर्शनका कारण भएको क्षति राजा ज्ञानेन्द्रकै सम्पत्तिबाट भराउनुपर्छ भन्ने अडान लिएकी छिन्।
तर, राप्रपा नेपालका अध्यक्ष कमल थापाले बालेनको निर्णय हास्यास्पद भएको टिप्पणी गर्दै प्रदर्शनको आयोजक पूर्वराजा नभएको स्पष्ट पार्न आग्रह गरे । तर पूर्वराजा ज्ञानेन्द्र नै राजनीतिमा सक्रिय हुँदै राजावादी आन्दोलनमा हुमिन नागरिकहरुलाई आग्रह गरेका थिए । त्यसपछि प्रदर्शनका कार्यक्रमहरु तोकिएको थियो । नेपाल सरकार र प्रमूख राजनीतिक दलहरुले सो घटनाको मुख्य नाइके नै पूर्वराजा रहेको ठहर गरिसकेको छ ।उनलाई सो घटनाका विषयमा र आगामी दिनमा राजावादीको आन्दोलन गरेर भौतिक तथा मानवीय क्षेति भए सो को जिम्मेवारी नै पूर्वराजा हुनुपर्ने सरकारले निष्कर्ष निकालेको छ । राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजावादी आन्दोलनलाई मलजल गर्दै आएको छ ।




